यूएईमा ड्रोनका भग्नावशेष खस्दा घाइते भएका सबै नेपाली सुरक्षित, २ जना डिस्चार्ज भइसकेका छन्

२१ चैत, काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा ड्रोनका अवशेष खस्दा घाइते भएका नेपालीहरूका अवस्थाबारे यूएईस्थित नेपाली दूतावासले जानकारी प्रदान गरेको छ। परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ कि दूतावासले घाइतेहरूसँग सम्पर्क गरी उनीहरूको अवस्थाबारे जानकारी लिएको छ। दूतावासका कर्मचारीले घाइते सातै जनासँग कुराकानी गरेका छन्.
शुक्रबार घाइते भएका मध्ये एक जनाको अवस्था चिन्ताजनक भए पनि सातै जना खतरामुक्त रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जनाएका छन्। उनले भने, ‘सबैसँग सम्पर्क भइसकेको छ। एक जनाको हातमा चोट लागेको थियो, तर अवस्था स्थिर छ। अन्य के सहयोग गर्न सकिन्छ भनेर दूतावास परिचालित छ।’
प्रवक्ता पौडेलका अनुसार दुई जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने बाँकी पाँचजनाको उपचार अझै जारी छ। यूएईका सरकारी सञ्चार माध्यमबाट सात जना नेपाली घाइते भएका खबर आएपछि दूतावासले चासो देखाउँदै उनीहरूको अवस्थाबारे जानकारी लिएको हो।
शुक्रबार इरानले प्रहार गरेको ड्रोनलाई यूएई वायु रक्षा प्रणालीले क्षेप्यास्त्रमार्फत अवरुद्ध गरेपछि अबुधाबीको अजबान क्षेत्रमा ड्रोनका भग्नावशेष खसेका थिए। त्यस घटनामा ७ जना नेपालीसहित १२ जना घाइते भएका थिए, जसमा ७ जना नेपाली र ५ जना भारतीय नागरिक थिए।






