
२१ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीको पराजयलाई ‘स्वीङ भोट’को कारण भएको बताएका छन्। शनिबार काठमाडौंस्थित वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १८ औं वार्षिक साधारण सभामा सम्बोधन गर्दै उनले यो विचार राखेका हुन्। भर्खरै सम्पन्न निर्वाचनमा मतदाताले पार्टीलाई छोडेर नभई केवल मत ‘स्वीङ’ गरेको दाबी गर्दै कोइरालाले अब मत ‘सिफ्ट’ हुन नदिनुपर्ने बताएका छन्।
संसदमा कांग्रेसको उपस्थिति कमजोर हुनुमा जनताको चाहना र नयाँ राजनीतिक ‘हावाहुरी’बुझ्न नसक्नु मुख्य कारण रहेको उनले बताए। ‘धेरैले सोच्छन् कसरी हारियो, के गरियो, के भयो भन्ने’, नेता कोइरालाले भने, ‘तर त्यस्ता हावाहुरी-हुण्डरीहरू आयो, हामीले बुझ्न नसक्नु पनि हुन सक्छ।’ उनले अबको लडाइँ वामपन्थीसँग भन्दा ‘लिबरल डेमोक्रेट्स’सँग हुने भएकाले संगठनलाई बलियो बनाउनुपर्नेमा जोड दिए।
‘पहिले हाम्रो लडाइँ वामपन्थीसँग हुन्थ्यो, त्यो सजिलो थियो। अबको लडाइँ लिबरल डेमोक्रेट्ससँग छ’, उनले भने, ‘त्यो लडाइँमा हामी पछि पर्नुहुँदैन भन्ने मलाई लाग्छ। हाम्रो संगठन छ र हामी गर्न सक्छौं भन्ने विश्वास मलाई छ।’ सुरुदेखि नै केन्द्रीय कार्यसमितिको निर्णयबाट विशेष अधिवेशनमा जानुपर्ने अडान राखेको पनि उनले स्मरण गराए। विशेष अधिवेशनबाट गगन थापा सभापति चयन गरिएको विषयमा भने शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा दिएको मुद्दा अझै अन्तिम फैसला हुन बाँकी रहेको बताए। अदालतको प्रक्रिया जे जस्तो भएपनि पार्टीलाई एकताबद्ध बनाउन आफू अन्तसम्म लागिरहने प्रतिबद्धता नेता कोइरालाले व्यक्त गरे। ‘मुद्दाको छिनोफिन भोलिदेखि सुरु हुनेछ। अब कति दिन लाग्छ भन्न सकिँदैन’, उनले भने, ‘तर नेपाली कांग्रेसलाई एक ढिक्का बनाउने र एक ठाउँमा ल्याउने मेरो अन्तिम प्रयास हुनेछ।’






