
स्वास्थ्य मन्त्रालय सिंहदरबार परिसरमा अस्थायी टिनका कोठामा कार्यरत छ, जहाँ वर्षात् सुरु भएपछि पानी र हिलोले काम गर्न कठिनाइ हुन्छ। गत भदौमा जेनजी आन्दोलनको क्रममा स्वास्थ्य मन्त्रालयको भवन पूर्ण रूपमा आगजनी भएपछि मन्त्रालयले सिंहदरबारको नरसिंह दल गणको खाली जग्गामा अस्थायी कार्यालय स्थापना गर्यो। मन्त्रालयका सूचना अधिकारी डा. भक्तबहादुर केसीले उपयुक्त भवन खोजी भइरहेको र मन्त्रालय पूर्ण रूपमा सिंहदरबार भित्र सार्न सरकारसँग समन्वय भइरहेको बताए।
देशको सर्वोच्च प्रशासनिक केन्द्र सिंहदरबारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अभाव र अव्यवस्था भोग्न बाध्य छ। मन्त्रालय परिसरमा प्रवेश गरेपछि अस्थायी संरचना अर्थात् टिनका कोठा ‘डिब्बा’ देखिन्छन्, जहाँ स्वास्थ्य मन्त्री, सचिव र केही महाशाखा छन्। कर्मचारी त्यही संरचनामा बसेर काम गर्न बाध्य छन्। वर्षात् सुरु हुने बित्तिकै यी संरचनाहरूको अवस्था झन् दयनीय बन्छ। पानी परेपछि परिसरभरि हिलो जम्छ। कार्यालय परिसरमा हिंडडुल गर्न कठिन हुन्छ।
कर्मचारीहरूले फाइल बोकेर एक कोठाबाट अर्को कोठासम्म पुग्दा जुत्ता हिलाम्मे हुन्छ। ‘पानी परेपछि परिसर पूरै हिलो हुन्छ। जस्ता बजेर काम गर्न अवरोध हुन्छ,’ मन्त्रालयका एक कर्मचारी भन्छन्। एउटै टेबलमा तीन-चार कर्मचारी कार्यालय भित्र पस्दा अर्को समस्या देखिन्छ, साँघुरो कार्यक्षेत्र। सीमित कोठा र कम टेबलका कारण एउटै टेबलमा तीन जनाभन्दा बढी कर्मचारी बस्नुपर्ने अवस्था छ।
मन्त्रालयका अधिकारीका अनुसार अहिलेको अस्थायी संरचनाबाट मन्त्रालय सञ्चालन गर्न दीर्घकालीन रूपमा सम्भव नभएकाले छिट्टै उपयुक्त सरकारी भवनमा मन्त्रालय सार्न आवश्यक छ। स्वास्थ्य मन्त्रालय जनतासँग प्रत्यक्ष सम्पर्क हुने मन्त्रालय भएकाले दैनिक धेरै सेवाग्राही आउने गर्छन्। तर सिंहदरबार भित्र प्रवेशका लागि पास व्यवस्था गर्नुपर्ने भएकाले व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।






