Skip to main content

सभामुख र सांसदहरूको लागि समान स्तरको कुर्सी व्यवस्था संसद्‌मा

समाचार सारांश एकेडेमिक समीक्षा पश्चात तयार पारिएको। सभामुख डोलप्रसाद अर्यालको सुझाव अनुसार प्रतिनिधिसभा हलमा सभामुख र सांसदहरूको लागि समान प्रकारको कुर्सी व्यवस्थापन गरिएको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको अध्यक्षतामा १५ सदस्यीय प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरियो। २३ चैत, काठमाडौं।

प्रतिनिधिसभा हलमा सभामुख र सांसदहरूका लागि समान प्रकारको कुर्सीको व्यवस्था गरिएको छ। पहिले सभामुखलाई विशेष किसिमको कुर्सी दिइन्थ्यो। यसपटक पनि सभामुखको निर्वाचनअघि सभामुख र सांसदहरूको लागि भिन्न प्रकारका कुर्सीहरू राखिएको थियो। तर सभामुख डोलप्रसाद अर्यालको आएपछि सभामुख र सांसदहरूको लागि समान किसिमको कुर्सी व्यवस्था गरिएको हो। संघीय संसद सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीका अनुसार, ‘सभामुखले समान कुर्सीको व्यवस्थाका लागि आग्रह गरेपछि रङ मात्रै भिन्न राख्ने गरी सभामुख र सांसदहरूको लागि समान कुर्सीको व्यवस्था गरिएको हो।’

सोमबार बसेको प्रतिनिधिसभा बैठकले दुईवटा फरक–फरक समिति गठन गरेको छ। २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरिएको छ। समितिमा अचुतम लामिछाने, अप्सना बानु, आरेन राई, केपी खनाल, कामिनी चौधरी, क्रान्तिशिखा धिताल, खुश्बु ओली, गणेशसिंह ठगुन्ना, गुरुप्रसाद बराल, गंगालक्ष्मी अवाल, तपेश्वर यादव, देवराज पाठक, नरेन्द्रकुमार केरुङ, प्रकाशचन्द्र परियार, निशा डाँगी, बोधनारायण श्रेष्ठ, मीनाकुमारी यादव, युवराज दुलाल, राजन गौतम, डा. राम लामा र विपिनकुमार आचार्य सदस्य रहेका छन्। यस्तै, सोमबारको प्रतिनिधिसभा बैठकले प्रतिनिधिसभा नियमावली मस्यौदा समिति पनि गठन गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीको सभापतित्वमा १५ सदस्यीय समिति गठन गरिएको हो। समितिका सदस्यहरूमा डा. ओजश्वी शेरचन, ऐन महर, खुश्बु ओली, खगेन्द्र सुनार, गजलासमिम मिश्रानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निश्कल राई, वलावती शर्मा, मधु चौलागाईं, रेखाकुमारी यादव, यज्ञमणि न्यौपाने र सुलभ खरेल रहेका छन्। समितिको कार्यकाल १४ दिन तोकिएको छ।