
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद गजला समिम मिकरानीले शिक्षा मौलिक अधिकार भएको र सबैले समान पहुँच पाउनुपर्ने बताइन्। उनले मधेश र ग्रामीण भेगमा शिक्षाको गुणस्तर कमजोर रहेको र मुस्लिम समुदाय अझै पछाडि रहेको उल्लेख गरिन्। २४ चैत, काठमाडौं।
प्रतिनिधिसभा बैठकमा मंगलबार उनी भनीन्, ‘शिक्षा मौलिक अधिकार हो। तर मधेश र ग्रामीण क्षेत्रमा शिक्षाको गुणस्तर निकै कमजो भएको छ। मुस्लिम समुदाय अझै पछि परेको छ।’ उनका अनुसार शिक्षा सबैका लागि समानरुपमा उपलब्ध गरिनुपर्छ। नेपालको संविधानको धारा ३१ अनुसार प्रत्येक नागरिकलाई आधारभूत तहसम्म निःशुल्क शिक्षा पाउने हक दिइएको छ।
धारा ३१ को उपधारा २ मा भनिएको छ, ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ।’ अपाङ्गता भएका र आर्थिक दृष्टिले विपन्न नागरिकलाई कानुन बमोजिम निःशुल्क उच्च शिक्षा पाउन सक्ने अधिकार हुनेछ। दृष्टिविहीन नागरिकलाई ब्रेल लिपि र बहिरा तथा स्वर/बोलाइमा अपाङ्गता भएका नागरिकलाई सांकेतिक भाषाका माध्यमबाट कानुन बमोजिम निःशुल्क शिक्षा पाउने संवैधानिक व्यवस्था छ। नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नै मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने तथा सञ्चालन गर्ने अधिकार पनि संविधानले सुनिश्चित गरेको छ।






