शिक्षामन्त्रीले भने– विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था पुनः समीक्षा गरिनेछ

२४ चैत, महेन्द्रनगर । नेपालका विश्वविद्यालयहरूमा कुलपति प्रधानमन्त्री र सहकुलपति शिक्षामन्त्री रहने कानुनी व्यवस्थाबारे पुनः समीक्षा गरिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले बताएका छन् । मंगलबार कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालय पुगेका बेला मन्त्री पोखरेलले पत्रकारहरूसँग कुराकानी गर्दै उक्त कुरा बताएका हुन्।
‘विश्वविद्यालयमा बढ्दो राजनीतिकरणलाई अन्त्य गर्नु आवश्यक छ। त्यसका लागि कुलपति र सहकुलपतिले क्रमशः प्रधानमन्त्री र शिक्षामन्त्री हुनु पर्ने वर्तमान व्यवस्था पुनः समीक्षा गर्नेछौं,’ उनले भने।
उक्त क्रममा उनले विश्वविद्यालयभित्रका विद्यार्थी संगठनहरू खारेज गर्ने पूर्व सरकारको निर्णयलाई अहिलेको सरकारले प्रतिबद्धतापूर्वक अघि बढाइरहेको पनि बताए। मन्त्री पोखरेलले प्राज्ञिक विकासका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीहरूलाई सरकारको गति र सय दिने कार्यसूचीअनुसार काम गर्न निर्देशन दिएका छन्।






