इरान र अमेरिकाबीच दुई हप्ते युद्धविराम र स्ट्रेट अफ होर्मुज बन्दरगाह खोल्ने सहमति

संयुक्त राज्य अमेरिका र इरानले दुई हप्ता अवधिको युद्धविराम गर्ने घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले “सम्पूर्ण सभ्यता नष्ट हुने” चेतावनी दिएका समयसीमा सकिन अरु केही समयअघि यो सहमति पुगिएको हो।
इरानी विदेशमन्त्री अब्बास अराग्चीले इरानी सशस्त्र सेनासँग समन्वय गरी स्ट्रेट अफ होर्मुजबाट सुरक्षित आवतजावत सुनिश्चित गरिने बताएका छन्। युद्धमा संलग्न इजरायलले पनि यो युद्धविराम सहमति पालना गर्ने जनाएको छ।
वार्तामा मध्यस्थताको भूमिका निर्वाह गरेको पाकिस्तानमार्फत अमेरिकालाई युद्धविरामका लागि १० बुँदे योजना प्रस्तुत गरिएको इरानले पुष्टि गरेको छ। युद्धविराम सहमतिपछि इन्धन मूल्य घट्न सुरु भएको छ। मंगलबारसम्म प्रति बारेल १०० अमेरिकी डलरमा कारोबार भइरहेको कच्चा तेलको मूल्य अहिले ९४.५ डलर प्रति बारेलमा झरेको छ। एशियाली सेयर बजार पनि यो सहमतिपछि उच्च स्तरमा पुगेको छ।






