
बायर्न म्युनिखले युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा रियल मड्रिडलाई २-१ को अन्तरले हराएको छ। खेलको पहिलो हाफमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको सुरुवातमै ह्यारी केनले गोल थपेर बायर्नको अग्रतालाई दोब्बर बनाएका थिए। रियलका लागि किलियन एम्बाप्पेले ७४ औं मिनेटमा गोल गरे पनि टोलीले बराबरी गोल गर्न सकेन। २५ चैत, काठमाडौं।
युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २-१ को स्कोरले पराजित गरेको छ। गत रात रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगभन्दा पहिलै अग्रता बनाएको हो। खेलको पहिलो हाफको ४१ औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए। दोस्रो हाफ सुरु भएसँगै, एक मिनेटमै ह्यारी केनले उत्कृष्ट गोल थप्दै अग्रतालाई दोब्बर बनाए। रियलका लागि ७४ औं मिनेटमा किलियन एम्बाप्पेले ट्रेन्ट एलेक्जेन्डर-अर्नोल्डको पासमा गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे। त्यसपछि रियलले दबाब सिर्जना गर्यो तर समानी गोल गर्न सक्षम भएन। बायर्नका गोलकिपर म्यानुएल नोएरले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई जित दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। अब दोस्रो लेग अर्को साता बायर्नको घरेलु मैदानमा हुनेछ।






