Skip to main content

हत्याको दोषी १९ वर्ष कैद सजाय पाएका व्यक्ति २९ वर्षपछि पक्राउ

२५ चैत, स्याङ्जा। करीव तीन दशकअघि भएको हत्याको एक मुद्दामा दोषी ठहर भएका फरार अभियुक्त २९ वर्षपछि पक्राउ परेका छन्। भीरकोट नगरपालिका–२ का ६३ वर्षका हेमबहादुर केसी (जोगी)लाई प्रहरीले २९ वर्ष फरार भएपछि बुधबार पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार, २०५३ साल कात्तिक ३ गते तत्कालीन वालिङ गाविस–३ सिद्धार्थ राजमार्ग क्षेत्रमा सोही गाविस–६ का रनबहादुर सारुको हत्या भएको थियो। उक्त घटनाको मुद्दा सर्वोच्च अदालतसम्म पुगेसँगै केसीलाई १९ वर्ष ७ महिना २१ दिन कैद सजाय तोकिएको थियो। त्यसभन्दा पछि उनी फरार थिए। जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विशेष सूचनाको आधारमा भीरकोट–२ भारथान लुवाडाँडाबाट केसीलाई पक्राउ गरेको जानकारी दिएको छ। पक्राउपछि बुधबारै उनलाई स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराएर जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीले बताए। उनका अनुसार, जेल जानबाट बच्न केसीले आफ्नो पहिचानसमेत परिवर्तन गरी फरक थरबाट नागरिकता पनि बनाएको तथ्य प्रहरीले पुष्टि गरेको छ।