Skip to main content

कालीकोटमा एम्बुलेन्स दुर्घटनामा २ जनाको मृत्यु

जुम्लाबाट नेपालगञ्जतर्फ जाँदै गरेको एम्बुलेन्स कालीकोटमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कालीकोटका प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीका अनुसार दुर्घटनामा भीमबहादुर अधिकारी र चालक शक्तिबहादुर शाहीको मृत्यु भएको हो। घाइते भएका कलबहादुर अधिकारी र लोकेन्द्र शाहीको कालीकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटना जुम्लाको हिमा गाउँपालिकाको ना ०१००१ झ ००२४ नम्बरको एम्बुलेन्स खाँडाचक्र नगरपालिका–२ स्थित मेयरखोला नजिकै सडकबाट करिब २५ मिटर तल खसेर भएको हो। ३२ वर्षीय भीमबहादुर अधिकारी र २६ वर्षीय चालक शक्तिबहादुर शाहीको मृत्यु भएको जानकारी प्राप्त भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप उपचारका लागि ७१ वर्षीय बुबा कलबहादुर अधिकारीलाई नेपालगञ्ज लैजाने क्रममा छोरा भीमबहादुरको सोही दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका कलबहादुर अधिकारीको खुट्टामा चोट लागेको छ भने लोकेन्द्र शाहीको कान र पेटमा सामान्य चोट लागेको छ। दुवै जनाको हाल कालीकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ। प्रहरी प्रमुख खत्रीका अनुसार सडकमा लागेको बाक्लो हुस्सुका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।