Skip to main content

लेबननमा इजरायल र हिज्बुल्लाहबीच द्वन्द्व, अमेरिका-इरान युद्धविराममा दबाव

अमेरिका र इरानबीच दुई साता युद्धविरामको सहमति भए तापनि इजरायल लेबननमा लगातार आक्रमण जारी राख्दै आएको छ। हिज्बुल्लाहलाई लक्षित गरी इजरायली आक्रमणमा १८२ जनाको मृत्यु भइसकेको छ। बुधबार इजरायलले लेबननमा दश मिनेटसम्म ठूलो मात्रामा गोला बारुद प्रहार गरेको थियो। लेबननबाट सञ्चालित लडाकु समूह हिज्बुल्लाहले पनि इजरायलतर्फ जबाफी रकेट प्रहार गरेको जनाएको छ। सामाजिक सञ्जालमा जारी विज्ञप्तिमा हिज्बुल्लाहले युद्धविराम उल्लंघनको जवाफमा उत्तरी इजरायलमा प्रहार गरिएको उल्लेख गरेको छ।

इजरायलले लेबननमा आक्रमण रोक्न नसकेको अवस्थामा विरोधमा उत्रिने चेतावनी इरानी सेनाले दिएको छ। इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोरले इजरायलबाट आक्रमण जारी रहने हो भने “निशाना लगाएर जबाफी आक्रमण” गरिने चेतावनी दिएको छ। अमेरिका र इजरायलले युद्धविराम सम्झौतामा लेबननलाई समावेश नगरिएको बताएका छन्। पछिल्लो घटनाक्रमले अमेरिका र इरानबीच कमजोर मानिएको युद्धविराममा थप जोखिम थपिएको विश्लेषण गरिएको छ।

अमेरिका र इरानबीच दीर्घकालीन समाधान खोज्न पाकिस्तानमा आगामी वार्ताका लागि अमेरिकी उपराष्ट्रपति ज्युसियन भान्स नेतृत्वको प्रतिनिधिमण्डल आउने भएका छन्। वार्ता टोलीमा अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत स्टीभ विट्कोफ र ट्रम्पका ज्वाइँ जारेड कुश्नर पनि समावेश छन्। युद्धविरामको मध्यस्थता गरेका पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले दुई पक्षबीच शुक्रबार इस्लामाबादमा वार्ता हुने जानकारी दिएका थिए।

तर कुवेतले आफ्नो मुलुकमा बुधबार विहानसम्म पनि इजरायली ड्रोनबाट आक्रमण भएको बताएको छ। अमेरिका र इरानबीचको युद्धविराम घोषणामा होर्मुज स्ट्रेट पनि खुला गर्ने सहमति भएको उल्लेख छ। तर यो साँघुरो समुद्री मार्गबाट जहाजहरूले आवतजावत गर्नका लागि इरानको अनुमति लिनुपर्ने अडान छ। इरानले अनुमति बिना मार्ग प्रयोग गर्ने जलयानहरूलाई “निशाना बनाइने र नष्ट गरिने” चेतावनी दिएको छ।