
२६ चैत, काठमाडौं । शैक्षिक सत्र २०८३ र विद्यार्थी भर्ना वैशाख १५ गतेदेखि सुरु हुने भएको छ । सरकारले यही मितिदेखि नयाँ शैक्षिक सत्र संचालन गर्ने निर्णय गरेको छ । भर्ना कहिलेबाट सुरु हुनेछ भन्ने विषयमा केही अनिश्चितता रहेका बेला शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भर्ना अभियान पनि वैशाख १५ बाटै सुरु हुने सुनिश्चित गरेको छ । केन्द्रले जारी गरेको सूचनामा भर्ना अभियान वैशाख १५ बाट शुरु हुने र पठनपाठन वैशाख २१ बाट सुरु हुने उल्लेख गरिएको छ ।
पहिले शैक्षिक सत्र १ वैशाखदेखि सुरु हुने गर्छथ्यो । सूचनामा भनिएको छ कि वैशाख २ गतेदेखि प्रवर्धनात्मक तथा रचनात्मक शैक्षिक कामहरू गर्नुपर्नेछ । यसअघि १५ वैशाखभित्र शैक्षिक सत्रका लागि कार्ययोजना, वार्षिक कार्यतालिका, शैक्षणिक योजना तयार गर्ने, विद्यालय सुधार योजना बनाउने र अपडेट गर्ने साथै शिक्षकको पेशागत क्षमता विकाससम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेछ ।
त्यसैगरी विद्यार्थीहरूको सिकाइ उपलब्धि सुधार गर्न सम्बन्धित योजना निर्माण गर्नुपर्नेछ । शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार छुट्टाछुट्टै सार्वजनिक विदा दिने निर्णय भइसकेकोले त्यसअनुसार शैक्षिक कार्यक्रम तयार गरी कार्यान्वयन गर्न निर्देशन गरिएको छ ।






