
रास्वपा संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन शाह। फाइल फोटो काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो एक बजेसम्म सञ्चालन हुने छ। बैठकमा आज हुने उपसभामुखको निर्वाचन र अन्य विविध विषयमा छलफल गरिने रास्वपाले जनाएको छ। उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर र राप्रपाकी सरस्वती लामाले उम्मेदवारी दर्ता गराएकी छन्। श्रम संस्कृतिकी २५ वर्षीया ठाकुरले बिहीबार रास्वपाको समर्थनमा आफ्नो उम्मेदवारी दर्ता गराएकी थिइन्। प्रतिनिधि सभामा रास्वपा झण्डै दुई तिहाइ बहुमतमा रहेको हुँदा रास्वपाको समर्थन पाएर ठाकुर उपसभामुख निर्वाचित हुने सुनिश्चित देखिन्छ।






