
लेबननको राजधानी बेरुतमा बुधबार एक १३ वर्षे किशोरी सेल्फी भिडिओ खिच्दै थिइन्। त्यही क्रममा त्यहाँ इजरायली हवाई हमला भयो। सोशल मिडियाका लागि फिल्टरको उपयोग गरी उनले खिचेको भिडिओमा अचानक आत्तिएर भाग्दै गरेको दृश्य देखिन्छ।
अमेरिका र इजरायलले झन्डै डेढ महिनाअघि इरानमाथि आक्रमण शुरू गरेपछि लेबनन पनि इजरायली निसानामा परिरहेको छ। यो द्वन्द्व सुरु भएयता बुधबार लेबननमा सबैभन्दा भीषण हमला गरिएको इजरायलले जनाएको छ। उनका अनुसार त्यस क्रममा लेबननी लडाकु समूह हिज्बुल्लाहलाई लक्षित गर्दै १० मिनेटभित्र १०० भन्दा बढी स्थानमा हवाई हमला गरिएको थियो। लेबननका अनुसार इजरायली हमलामा ३०० जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने सयौँ घाइते भएका छन्।
इजरायल र हिज्बुल्लाहबीच बिहीवार राति पनि संघर्ष जारी रह्यो। इजरायलले लेबननमा हवाई हमला गर्दा हिज्बुल्लाहले रकेट आक्रमण गरेपछि तेल अभिभ र अरू स्थानमा सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न सुझाव दिइयो। इरानी अधिकारीहरूले लेबननमाथिको हमलाको निन्दा गर्दै इजरायलले युद्धविराम उल्लंघन गरेको आरोप लगाए। तर इजरायल र अमेरिकाले युद्धविरामको सहमतिमा लेबननलाई समावेश नगर्ने दाबी गर्दै आएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबननबीचको द्वन्द्व इरानसँगको भन्दा भिन्न रहेको बताएका छन्। नेतन्याहूले बिहीवार लेबननसँग प्रत्यक्ष वार्ता गर्न आफ्ना मन्त्रीपरिषद्लाई निर्देशन दिएका छन्। बेरुतले पनि वार्ताका लागि तयार रहेको जनाएको छ।
नेतन्याहूका अनुसार लेबननको बारम्बार आग्रहपछि उनले प्रत्यक्ष वार्ताका लागि मन्त्रिपरिषद्को स्वीकृति लिएका छन्। उनका अनुसार वार्ता “हिज्बुल्लाहलाई निरस्त्र बनाउने र इजरायल र लेबननबीच शान्ति स्थापना गर्ने” विषयमा केन्द्रित हुने छ।






