Skip to main content

नेपाली कांग्रेस संसदीय दल: संवैधानिक नियुक्तिमा विपक्षी दलको नेता चयन कहिले हुनेछ?

संसद्को दोस्रो ठूलो अर्थात् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निर्वाचनको अन्तिम परिणाम आएदेखि एक महिना नजिकिदा पनि संसदीय दलको नेता चयन गरेको छैन। निर्वाचन अघि नै पार्टीबाट प्रधानमन्त्रीको उम्मीदवार तोकिएका सभापति गगन थापासहित पार्टीका पदाधिकारीहरू प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि पार्टीभित्र दलको नेता चयनमा अलमल देखिएको विश्लेषकहरूले बताएका छन्। प्रतिनिधिसभामा कांग्रेसको संसदीय दलका नेता सरकारका लागि पनि महत्वपूर्ण विषय हो। सर्वोच्च अदालतका प्रधानन्यायाधीशदेखि निर्वाचन आयोगका प्रमुखसम्म रिक्त रहेका संवैधानिक पदहरूको नियुक्तिका लागि सिफारिस गर्ने संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्षी दलका नेता सदस्य हुन्छन्।

प्रधानमन्त्री अध्यक्ष रहने यस परिषद्मा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधिसभाको विपक्षी दलका नेता र उपसभामुख पदेन सदस्य हुने संवैधानिक व्यवस्था छ। प्रतिनिधिसभाबाट शुक्रबार उपसभामुख चयन भएपछि यस परिषद्का सदस्यमा विपक्षी दलका नेता मात्र चयन हुन बाँकी छन्। कांग्रेसले कहिले नेता चयन गर्ने? नेपाली कांग्रेसका नेताहरू नयाँ वर्षसँगै पार्टीले दलको नेता चयन गर्ने तयारीमा रहेको बताउँछन्। हाल प्रदेशस्तरीय कार्यक्रमहरू चलिरहेका कारण पार्टीको ध्यान दलको नेता चयनतर्फ पुग्न बाँकी रहेको पार्टी प्रवक्ता देवराज चालिसेले दाबी गरे।

“संसद् भित्र इच्छुक साथीहरूलाई सर्वसम्मतिको प्रयास गर्ने जिम्मेवारी दिएका छौँ र साथीहरूबीच छलफल पनि चलिरहेको छ। सकेसम्म सर्वसम्मतीबाट बनाउने प्रक्रियामा हाम्रो ध्यान छ,” चालिसेले भने। “यदि नहुने हो भने लोकतान्त्रिक विधिपद्धतिअनुसार चुनाव पनि गर्न सकिन्छ।” कांग्रेस दलको नेताका आकांक्षी भनिएका भीष्मराज आङ्देम्बे र मोहन आचार्यले सर्वसम्मतिमा छलफल भइरहेको प्रतिक्रिया दिए। प्रवक्ता चालिसेका अनुसार केही दिनभित्र दलको नेता चयन प्रक्रिया अगाडि बढाउने योजना रहेको छ। “दुई-चार दिन भित्र यो प्रक्रिया सम्पन्न गर्नेछौँ,” उनले भने।

नेपाली कांग्रेसले प्रतिनिधिसभामा ३८ सिट जितेको छ। त्यसमध्ये १८ जना प्रत्यक्ष निर्वाचित र २० जना समानुपातिक प्रणालीबाट आएका हुन्। प्रवक्ता चालिसेका अनुसार कांग्रेसले दलको नेता चयनमा प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीबाट निर्वाचित सांसदहरूलाई भेदभाव गर्ने छैन। “संसद सदस्य भइसकेपछि संविधानले सबैलाई समान स्तरको सांसद बनाइसकेको छ, त्यसैले विभाजन वा भेदभाव गर्नु राजनीतिक तर्क हुँदैन। सबैभन्दा महत्वपूर्ण कुरा सांसदहरूको छनोट हो,” उनले भने।

कांग्रेसको आन्तरिक राजनीतिमा रुचि राख्ने विश्लेषक पुरञ्जन आचार्यले विशेष महाधिवेशनमार्फत पुस्तान्तरण भएको भनिएको कांग्रेसमा पुरानो शैली अझै पनि देखिएको बताएका छन्। “कांग्रेस २.० भनिए पनि पार्टीभित्रको संस्कार उस्तै छ,” आचार्यले भने। “फेरि नेतृत्वमा पनि केही शक्तिसँगर्ष छ। नयाँ पुस्तालाई दिने वा पुरानो पुस्तालाई दिने भन्ने स्थिति छ।” तर पार्टीभित्र नेता चयनमा विवाद वा शक्तिसँगर्ष नभएको पार्टी प्रवक्ता चालिसेले दाबी गरे। “हाम्रो कार्यक्रम २.० हो जसको अर्थ कांग्रेसलाई समयसंगै, आधुनिकीकरण र नया ढंगले अगाडि बढाउने हो। संसदीय दलको नेता चयनमा केही दिन ढिलाइ भएको भए पनि त्यसले महत्व कम हुँदैन।”

कांग्रेस विशेष महाधिवेशनको आधिकारिकता विवादबारे असंतुष्ट पक्षले दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ। निर्वाचनपछि विशेष महाधिवेशनबाट हटाइएका नेताहरू पूर्णबहादुर खड्काको नेतृत्वमा समानान्तर गतिविधि गर्दै आएका छन्। खड्काले आफूलाई पार्टीको ‘कार्यवाहक सभापति’ भनेर विज्ञप्ति निकालेपछि समानान्तर गतिविधि गर्ने नेताहरूलाई कारबाही गर्न सकिने चेतावनी समेत नेताहरूले दिएका छन्।