Skip to main content

उपसभापति शर्माद्वारा केसीलाई सुझाव– संसदीय दलको नेता नभई राजनेता बन्नुस्

फाइल तस्वीर नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अर्जुननरसिंह केसीलाई राजनेता बन्न सुझाव दिएका छन्। शर्माले केसीलाई कांग्रेस संसदीय दलको नेता मात्र नभई सबै दलको साझा अभिभावकका रूपमा हेर्न चाहेको बताए। केसीले संसदीय दलको नेता सर्वसम्मत चयन गर्न सहजीकरण गर्ने अपेक्षा राखेका छन् र नयाँ वर्षमा निर्वाचन हुने सम्भावना रहेको छ। २७ चैत, काठमाडौं।

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका अनुभवी नेता अर्जुननरसिंह केसीलाई राजनेता बन्न सुझाव दिएका छन्। कास्कीको पोखरामा शुक्रबार आयोजित पार्टीको गण्डकी प्रदेश समीक्षा बैठकमा सम्बोधन गर्दै उनले केसीले अब दलको नेताबाट राजनेता बन्ने मार्ग अपनाउनु पर्ने बताएका छन्। केसीले संसदीय दलको नेता बन्ने आकांक्षा राखिरहेको बेला उपसभापति शर्माको यस्तो सन्देश आएको हो।

शर्माले भने, ‘उहाँ (केसी) ले कांग्रेस संसदीय दलको नेता स्वयं बन्न चाहँदा हामीले हुन्न भन्न अप्ठ्यारो हुन्छ नै। त्यसैले हाम्रो अपेक्षा नेता पदबाट राजनेता बन्ने मार्ग उहाँले अपनाउनु समयानुकूल हुन्छ।’ ‘२०४८ सालको संसद्को अनुभवी व्यक्तित्वमा केवल अर्जुननरसिंह केसी नै हुनुहुन्छ। उहाँ सबैभन्दा ज्येष्ठ र सबैभन्दा अनुभवी हुनुहुन्छ। साथै युवाहरूमा ऊर्जा बोकेको योग्य व्यक्तित्व पनि हुनुहुन्छ। त्यसैले हामीले उहाँलाई केवल कांग्रेसको संसदीय दलको नेताका रूपमा मात्र होइन, सबै दलहरूको साझा अभिभावकको रूपमा हेर्न चाहेका छौं,’ उनले बताए।

केसीले सांसद साथीहरूबिच संसदीय दलको नेता सर्वसम्मत चयन गर्ने सहजीकरण गर्ने अपेक्षा राखेको उपसभापति शर्माले बताएका छन्। सर्वसम्मत नभए नयाँ वर्षमा निर्वाचन मार्फत संसदीय दलको नेतृत्व चयन गरिने उनले भने।