
एमालेले प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारीलाई समर्थन नगरी तटस्थता अपनाएको छ। रुबीकुमारी उपसभामुख पदका लागि दुई तिहाइ मतको पूर्वसमर्थन बोकेको अवस्थामा कांग्रेस, रास्वपा र नेकपाले उनलाई समर्थन गरेका थिए। एमालेले तटस्थता छानेपछि नयाँ पुस्ता र समावेशीताको सन्देश दिन नसकेको मात्र होइन, राजनीतिक अवसर पनि गुमाएको छ। २६ चैत, काठमाडौं। श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित हुन लागेको बेला एमाले निर्वाचन प्रक्रियामा तटस्थ रह्यो। उनी पक्षमा उभिएको पनि थिइन, विपक्षमा पनि। पछिल्लो दशकदेखि एमाले हरेक राजनीतिक मोर्चामा स्पष्ट र ठोस लाइन लिएर उभिन्थ्यो। तर यसपटक उपसभामुख पदको निर्वाचनमा कुनै स्पष्ट कारण नखुलाइ तटस्थताको नीति अपनायो। यदि अरुको उम्मेदवारी स्वीकार्न नसक्ने हो भने आफ्नै उम्मेदवारी पनि दिन सक्थ्यो। तर एमालेले संसद् नियमावलीमा रहेको तटस्थ बस्न मिल्ने व्यवस्था प्रयोग गर्यो। नियमअनुसार गलत नहोला तर यसले एमालेलाई एउटा सन्देश दिन अवसरबाट वञ्चित गरायो।
एमाले सांसद मोहम्मद इस्तियाक राई भन्छन्, ‘सभामुखको हकमा जस्तो व्यापक समर्थन गरियो, उपसभामुखको विषयमा त्यो प्रयास भएन, त्यसैले हामी तटस्थ बस्यौं।’ उनका अनुसार अहिले सत्तापक्षले विपक्षी दलहरूप्रति जे व्यवहार गरिरहेको छ त्यसमा पनि एमाले असन्तुष्ट छ। अध्यक्ष केपी शर्मा ओलीलाई पूर्वाग्रही रूपमा थुनेको आरोप लगाउँदै एमाले रिस फेर्न खोजेको देखिन्छ। संसदीय राजनीतिमा यस्ता क्षणहरू आउँछन् जुनबाट दलको वैचारिक उचाइ, राजनीतिक परिपक्वता र दूरदृष्टि नाप्न सजिलो हुन्छ। तर, तटस्थताको यो नीति छाँयोग्रस्त दृष्टि देखाउँछ।
रुबीकुमारी ठाकुरलाई प्रतिनिधिसभाको उपसभामुखमा समर्थन गर्नुले एमालेलाई धेरै फाइदा हुने थियो। उनी मात्र उपसभामुख बन्नका लागि उठाइएका उम्मेदवार होइनन्। उनको उम्मेदवारीले एउटा ठूलो सन्देश दिएको थियो। उनी मधेसको सीमा लागेको समुदायबाट उठेकी छिन्, आर्थिक रुपमा कमजोर परिवारबाट संघर्ष गर्दै राष्ट्रिय राजनीतिमा प्रवेश गरेकी छन्, र नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने अनुहार पनि हुन्। श्रम संस्कृति पार्टीबाट समानुपातिक सांसद बनेकी रुबीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले पनि समर्थन गरी उनले दुई तिहाइ मतको अतिदेखि पूर्वसमर्थन पाएकी थिइन्। संसदका प्रमुख दलहरू—रास्वपा, कांग्रेस र नेकपा उनको पक्षमा उभिएका थिए। यदि एमालेले पनि उनको समर्थन गरेको भए, उपसभामुखमा सर्वसहमति सम्भव थियो।
तर, एमालेले फरक बाटो छानेर तटस्थताको नीति अपनायो। राजनीतिमा तटस्थता सधैं निष्पक्षताको परिचायक हुँदैन; कहिलेकाहीँ यो अस्वीकारको अर्को रूप पनि हो। रुबीकुमारीप्रति व्यापक समर्थन रहेको र दुई तिहाइभन्दा बढी मतबाट निर्वाचित हुने अवस्था हुनुमा एमालेको तटस्थताले परिणाममा कुनै प्रभाव भने पर्दैनथ्यो। समर्थन गरेर, उनी उपसभामुख जस्तो तटस्थ भूमिका निर्वाह गर्ने पदलाई आफ्नो स्वामित्वमा लिन सक्थ्यो। यदि एमालेले रुबीलाई समर्थन गरेको भए, त्यो केवल एउटा व्यक्तिलाई पदमा पुर्याउने काम मात्र होइन, संसद्मा नयाँ दलहरूप्रति सहकार्यको सन्देश पनि बन्ने थियो।






