Skip to main content

अब यी लाखौं स्मार्टफोनहरूमा ह्वाट्सएप चल्ने छैन

ह्वाट्सएपले सन् २०२६ सेप्टेम्बर ८ देखि एन्ड्रोइड ६.० भन्दा पुरानो अपरेटिङ सिस्टम भएका स्मार्टफोनहरूमा सपोर्ट बन्द गर्ने घोषणा गरेको छ। पुराना एन्ड्रोइड संस्करण भएका फोनहरूमा ह्वाट्सएपले नयाँ फिचर र सुरक्षा अपडेट नदिने भएकाले कम्पनीले यस्तो कदम चाल्नुपरेको हो। यस वर्ष लाखौँ स्मार्टफोनहरूबाट ह्वाट्सएप उपलब्ध नहुने भएको छ।

सन् २०२६ मा मेटाले ह्वाट्सएपको सिस्टम अपडेट गरेसँगै पुराना मोडलका लाखौँ एन्ड्रोइड स्मार्टफोनमा ह्वाट्सएप चल्दैन। आगामी सेप्टेम्बर ८ देखि एन्ड्रोइड ६.० भन्दा पुरानो अपरेटिङ सिस्टम भएका स्मार्टफोनहरूमा ह्वाट्सएपले काम गर्ने छैन। एन्ड्रोइड ५.० वा ५.१ चल्ने फोनहरूमा ह्वाट्सएप पूर्ण रूपमा बन्द हुनेछ।

ह्वाट्सएपले निरन्तर रूपमा पुराना डिभाइसहरूको सपोर्ट हटाउँदै आएको छ ताकि प्रयोगकर्ताहरूले नयाँ फिचर र राम्रो सुरक्षासहित सेवा प्रयोग गर्न सकून्। पुराना मोडलहरूले प्रायः नयाँ अपडेट सपोर्ट गर्दैनन् र सुरक्षाका दृष्टिले जोखिम पनि बढी हुन्छ। विशेषगरी विकासोन्मुख र तेस्रो विश्वका कतिपय देशका प्रयोगकर्ताहरू अझै ८ देखि १० वर्ष पुराना स्मार्टफोन प्रयोग गरिरहेका छन्।

सामसुङ ग्यालेक्सी एस ४, नेक्सस ४, एलजी जी टू जस्ता मोडलहरूमा पहिले नै सपोर्ट बन्द भइसकेको छ। आगामी सेप्टेम्बरदेखि सपोर्ट बन्द हुने फोन प्रयोगकर्ताहरूलाई ह्वाट्सएपले नोटिफिकेसन पठाउन थालेको छ। यदि तपाईंको फोन एन्ड्रोइड ६.० भन्दा पुरानो छ भने छिट्टै ह्वाट्सएपबाट नोटिफिकेशन प्राप्त हुने सम्भावना छ। यस अवस्थामा तपाईंसँग दुई विकल्प छन्: पहिलो, यदि तपाईंको फोनले एन्ड्रोइड अपडेटको विकल्प दिन्छ भने माथिल्लो संस्करणमा अपडेट गर्नुहोस्। यदि अपडेट सम्भव छैन भने नयाँ फोन किनेर ह्वाट्सएप चलाउनुपर्ने हुन्छ।