
नेपाल हक्की संघले राष्ट्रिय पुरुष र महिला हक्की टिमका लागि नयाँ जर्सी सार्वजनिक गरेको छ। २७ चैत, काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य राम चरित्र मेहता र नेपाल हक्की संघका अध्यक्ष अनिल प्रसाद शर्माले संयुक्त रूपमा जर्सी अनावरण गरेका छन्। पुरुष टिमका लागि रातो रंगको र महिला टिमका लागि गुलाबी रङ्गको जर्सी प्रस्तुत गरिएको छ।
जर्सी सार्वजनिक कार्यक्रममा राखेप सदस्य सचिव मेहताले हक्की संघको यस प्रयासको प्रशंसा गर्दै यसले हक्की खेललाई चिनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे। उनले राखेपले हक्की खेलको विकास र पूर्वाधार निर्माणका लागि निरन्तर सहयोग गर्दै आएको जानकारी दिए। नेपाल हक्की संघका महासचिव सुवर्ण श्रेष्ठले भने कि राष्ट्रिय टिमको जर्सी सार्वजनिक गर्दा नयाँ यात्रा सुरु गरिएको छ र यसले आगामी दिनमा हक्की खेलको बारेमा सकारात्मक सन्देश दिनेछ। उनले जर्सीको लागि प्रायोजक खोज्ने योजना रहेको जानकारी पनि गराए।
त्यही दिन हक्की संघले महिला र पुरुष राष्ट्रिय टिमका लागि २६-२६ खेलाडीको सूची पनि सार्वजनिक गरेको छ। गत फागुनमा काठमाडौंमा भएको राष्ट्रिय हक्की प्रतियोगितामा प्रदर्शनका आधारमा राष्ट्रिय टिम चयन गरिएको महासचिव श्रेष्ठले जानकारी गराइन।






