
सरकारले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट दिएको दुई दिनमै नेपाल आयल निगमले इन्धन मूल्यमा भारी वृद्धि गरेको छ। नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १७ रुपैयाँ र डिजेल/मट्टीतेलमा २५ रुपैयाँ वृद्धि गरी पेट्रोल २१९ र डिजेल २०७ रुपैयाँ कायम गरिएको छ। उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले निगम र सरकारको कदमलाई ‘ठूलो खेल र बदमासी’ भनेका छन् र तत्काल हस्तक्षेपको माग गरेका छन्।
२७ चैत, काठमाडौं। सरकारले उपभोक्तालाई राहत दिन भन्दै पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा ५० प्रतिशत छुट दिएको दुई दिन नबित्दै नेपाल आयल निगमले इन्धन मूल्यमा अचाक्ली वृद्धि गरेको छ। २४ चैतमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा ५० प्रतिशत छुट दिएको सुनाएकी थिइन्।
सरकारको यो निर्णय सुनेर उपभोक्ताले पेट्रोलियम पदार्थको मूल्य घट्ने र केही राहत पाउने आशा गरेका थिए। मूल्य घट्ने आशामा बसेका उपभोक्तालाई निगमले उल्टै मध्यरातदेखि लागु हुने गरी इन्धनको मूल्यमा भारी वृद्धि गरेर महँगीको मारमा पारेको छ। निगमको यो निर्णयपछि सरकारले जनतालाई संकटको अवस्थामा राहत दिनुपर्नेमा उल्टै महँगीको मारमा धकेलेको भन्दै आक्रोश पोखिरहेका छन्।






