Skip to main content

गण्डकी कांग्रेसको चुनावी समीक्षा बैठकमा गगनलाई प्रश्नहरूले घेरे

२७ चैत, पोखरा। नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिले शुक्रबार पोखरामा ‘निर्वाचन समीक्षा तथा कांग्रेसको आगामी बाटो’ विषयक कार्यक्रम आयोजना गर्‍यो। कार्यक्रममा सभापति गगनकुमार थापा पनि उपस्थित थिए। तर, कार्यक्रम अवधिभर सभापति थापाको अनुहार न त हँसिलो देखियो न त कुनै उत्साह प्रकट भयो। समीक्षा कार्यक्रममा प्रदेशका जिल्ला सभापति, प्रत्यक्ष र समानुपातिक उम्मेदवार तथा केन्द्रीय पदाधिकारीहरूले मन्तव्य राखे। गगनले सबैको मन्तव्य ध्यानपूर्वक सुने तर उत्साह भने कम देखियो। फागुन २१ को चुनावअघि माघ २३ मा प्रदेश भेलामा सहभागी हुन पोखरा आएका गगनको ‘भाषा’ र ‘शरीर भाषा’ बिल्कुल फरक थियो। चुनावी प्रचारका बेला ‘अब कि बार, गगन सरकार’ भन्ने नाराले उक्साइरहेका कार्यकर्ता सभामा उनले नयाँ नारा दिए—‘अब की बार, सय पार’। उक्त नारालाई लिएर कांग्रेसका नेताकार्यकर्ता त्यसलाई घन्काए। फागुन १५ मा चुनावी सभा गर्न पोखरा पुग्दा पनि गगनको उत्साह त्यहि स्वरुप थियो। उनले भनेका थिए, ‘कांग्रेसले बदलिएको आभास मतदातालाई दिनुपर्छ, तबै जित हुन्छ’ र थपे, ‘बदलिएको सन्देश गाउँगाउँ पुर्‍याउनुपर्छ, नयाँ भनिँदा त मात्रै ताजा विशेष महाधिवेशन गरी आएको सबैभन्दा नयाँ पार्टी कांग्रेस हो।’ तर, गगनले पोखराबाट दिएको ‘अबकी बार, सय पार’ नाराले चुनावमा कुनै सफलता पाउन सकेन, न त सयको आधा पनि जित भयो। बरु कांग्रेसको सिट संख्या ३८ मा सीमित रह्यो। बालेन्द्र शाह (बालेन)लाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झन्डै दुई तिहाइ सिट जित्यो र बालेन प्रधानमन्त्री बनेका छन्। बालेन आउने बेलासम्म गगनको अनुहार पनि बेचिन सकेन। गण्डकी प्रदेशका १८ सिटमध्ये मुस्ताङ र मनाङका दुई सिट बाहेक कांग्रेसले कुनै पनि स्थानबाट जित हासिल गर्न सकेन। निर्वाचनको दयनीय नतिजापछि समीक्षा कार्यक्रममा सहभागी हुन आएका गगन उत्साही हुनु स्वाभाविक थिएन। समीक्षा कार्यक्रममा विभिन्न नेताहरूले नतिजा विभिन्न तरिकाले विश्लेषण गर्दा गगनले प्रश्नको निशानाबाट भाग पाएनन्। केही नेताले विशेष महाधिवेशनको कारण सरकारमा कांग्रेस एकताबद्ध हुन नसकेको र चुनावमा पनि त्यसकारण सकारात्मक सन्देश नपुग्नुलाई बताउँदै आए। धेरैले जनमतलाई ‘हुरी’ भनेर संज्ञा दिनुका साथै कांग्रेसको चुनावी रणनीतिले केही प्रभाव नपरेको बताए। समीक्षा क्रममा कतिपय नेताले गगनविरुद्ध चेतावनीपूर्ण भाषा पनि प्रयोग गरे। ‘हिजो दाइहरूसँग लडेको अहिले विशेष महाधिवेशनका नेतृत्वसँग पनि लड्न नपरोस्’ भन्ने आशयको थियो उनीहरूको चेतावनी। स्याङ्जाका सभापति राजु थापाले सभापति गगनलाई निवर्तमान सभापति शेरबहादुर देउवाको हकमा जेजस्तो भए पनि अरु नेताहरूसँग मिलेर अग्रसर हुने आग्रह गरे। उनले पहिले आफूले वर्तमान सरकार र परिस्थिति कांग्रेसको पक्षमा नरहेको हुँदा चुनावमा नजानु राम्रो हुने भनिसकेको स्मरण गराए। अब कांग्रेसलाई एकतावद्ध बनाउन विकल्प नहुने भन्दै उनले गगनसँग यसमा ध्यान दिन आग्रह गरे। ‘हिजो दाइहरूले बोक्यो भनिन्थ्यो, अब तपाईंले सम्हालेर लैजानु पर्ने बेला हो, अर्को दाइविरुद्ध हामी उठ्न नपरोस्,’ स्याङ्जाका सभापति थापाले भने। उनले विशेष महाधिवेशनको कारण मत बढेको वा घटेको होइन भनेर टिप्पणी गरे। ‘विशेषको कारणले मत न त बढेको छ, न त घटेको छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति हाम्रो पक्षमा थिएन,’ उनले थपे। विश्वव्यापी रूपमा पपुलिजमको उदय भइरहेको बेला नेपालमा पनि त्यही अवस्था आएको उनको भनाइ थियो। समीक्षक नेताका विचार सुन्दै गगन अधिकांश समय टाउको हल्लाउँदै डायरीमा टिपोट गर्दै थिए। कहिले काही वक्ताहरूको जिकिर सम्झिएर उपसभापति विश्वप्रकाश शर्मासँग कुराकानी पनि गर्दै थिए। सधैं हँसिलो र कुटिल देखिने गगन उत्साहित नदेखिएपछि एक नेतृले चिन्ता गरेको कारण नै सोधिन्। गगनको प्रतिक्रिया – म चिन्तनमा छु गण्डकीका नेताहरूको समीक्षा र चेतावनी सुनेपछि आफ्ना विचार व्यक्त गर्दा गगनले आफू चिन्तित नभएर चिन्तनमा रहेको बताए। ‘चिन्ता र चिन्तनबीच ठूलो अन्तर छ। चिन्ता डर र प्रतिक्रियासँग जोडिन्छ, तर चिन्तन आत्मसमीक्षा र विश्लेषणसँग सम्बन्धित हुन्छ,’ उनले भने, ‘म अलि बढी चिन्तनमा छु।’ ‘चिन्तनको मुख्य कुरा आफूलाई र अरुलाई सुन्नु हो। यो समयमा कम बोल्ने र बढी सुन्ने अभियानमा छु।’ अघिल्लो समयमा कांग्रेस प्रवक्ता देवराज चालिसेले युद्ध र ब्याटल फरक हुने भन्दै चुनावको जित–हारमा विचलित नहुन सुझाएका थिए। त्यसरी सहमति जनाउँदै गगनले चुनावको नतिजालाई गल्ती मानेर होइन, सन्देशको रूपमा लिएर अगाडि बढ्ने बताए। ‘चिन्तनको प्रमुख कुरा आफू र अरुलाई सुन्नु हो, कम बोल्ने हो, यही अभियानमा छु,’ गगनले भने। आगामी असोजभित्र नियमित महाधिवेशन गर्ने योजना सुनाउँदै गगनले केन्द्रमा प्रमुख प्रतिपक्षी दल र प्रदेश तथा स्थानीय तहमा सत्तारुढको रूपमा काम गर्ने शैलीमा पनि काम गर्ने बताए। ‘पार्टीको जिम्मेवारी मेरो छ, दल सबैभन्दा बढी लचिलो हुनुपर्छ र सबैलाई मिलाउन प्रयास गर्नुपर्छ। म त्यो जिम्मेवारी निर्वाह गर्छु,’ उनले भने, ‘अब म सबै ठाउँमा जान्छु, संवाद गर्छु, सबैलाई जोड्ने कोसिस गर्छु।’ आगामी प्रदेश र स्थानीय तहको चुनावसम्म पहिलो पार्टी बन्न मिहिनेत गर्ने उदेश्य छ। उपसभापति विश्वप्रकाश शर्माले संसदीय दलको नेताको छिट्टै चयन गर्ने जानकारी दिए। त्यस्तै उनले निवर्तमान सभापति देउवालाई नेपाल फर्केर अनुसन्धानमा सहयोग गर्न आग्रह गरे। विशेष महाधिवेशनबाट आएको कार्यसमितिसम्बन्धी सर्वोच्चमा मुद्दा विचाराधीन रहेको र कानुन तथा विधिअनुसार आफन्त पक्षमा फैसला आउने गगनको दाबी छ। महामन्त्री प्रदीप पौडेलले चुनावी शैली र प्रचार प्रविधि परिवर्तन भईसकेको उल्लेख गर्दै अब प्राविधिक सक्षमता र बेदाग भएर अगाडि बढ्नुपर्ने बताए।