सुशान्त वैदिक उद्योग मन्त्रालयमा अवैतनिक काम गर्दथे, गौरीकुमारी यादव मन्त्री नियुक्त

२७ चैत, काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले १३ चैतमा पदको शपथ लिएको दिन मन्त्रीहरूको पुनः नियुक्ति गर्दा रक्षा मन्त्रालयसहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय आफूसँगै राखेका थिए। प्रधानमन्त्री शाहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा अनौपचारिक रूपमा रास्वपा सांसद सुशान्त वैदिकलाई काममा खटाएका थिए। तर, शुक्रबार मन्त्रीहरूको पुनः नियुक्तिमा प्रधानमन्त्री शाहले उक्त मन्त्रालयको जिम्मेवारी गौरीकुमारी यादवलाई दिएका छन्। नवनियुक्त मन्त्री यादव महोत्तरी–४ बाट निर्वाचित हुन्।
निर्वाचन सकिए लगत्तै अर्थमन्त्रीमा समेत चर्चा हुने वैदिकलाई उक्त मन्त्रालय ‘‘हेर्न’’ भनेर प्रधानमन्त्रीले काममा लगाएका थिए। मन्त्रालय स्रोत अनुसार सांसद वैदिक पछिल्लो समय नियमित रूपमा मन्त्रालयमा पुग्ने गरेका थिए। वैदिकले सचिव, सहसचिव, महाशाखा प्रमुखहरूसँग छलफल गर्दै मन्त्रालयका समस्याहरू बुझ्ने र समाधानका उपायहरूबारे राय लिने गरेका थिए। उपल्लो तहका एक कर्मचारीका अनुसार, वैदिकले मन्त्रालयमा सुधारका लागि गर्ने काममा आफ्ना विचार राख्दै उच्च तहका कर्मचारीसँग परामर्श गरिरहेका थिए।
वैदिकले आयल निगम र कम्पनी रजिष्ट्रारका वरिष्ठ कर्मचारीसँग पनि छलफल गरेका थिए। उद्योग मन्त्रालय अन्तर्गतका आठ महाशाखाका प्रमुखहरूसँग पनि उनले कुराकानी गरेका थिए। मन्त्रालयका एक उच्च तहका कर्मचारीले भने, ‘मन्त्रालयका समस्याहरू र सम्भावित सुधारबारे उहाँले जानकारी सङ्कलन गर्नुभएको थियो र कर्मचारीहरूको राय लिने गरिरहेका थिए।’ वैदिकले लन्डन स्कूल अफ इकोनोमिक्स (एलएसई) बाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् भने नर्वेको नर्वेजियन स्कूल अफ इकोनोमिक्स (एनएचएच) बाट अर्थशास्त्र र व्यवसाय प्रशासनमा पनि स्नातकोत्तर गरेका छन्।
तर शुक्रबार दुई मन्त्री नियुक्त गर्दा वैदिक पदमा परेनन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा रामजी यादव नियुक्त भएका छन्। चुनाव हुनु केही दिनअघि रास्वपामा प्रवेश गरी निर्वाचित भएकी यादवले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको दायित्व पाएकी छन्। महोत्तरीका रास्वपा सभापति शुभम यादवका अनुसार गौरीकुमारी यादव सामाजिक काममा संलग्न थिइन्। महोत्तरी सभापति शुभम यादवले भने, ‘पहिले उनले सक्रिय राजनीति नगरेको तर समाजसेवाको काम गर्दै आएकी थिईन्।’ उनका पति शिवजी यादव भने जसपा पार्टीमा संलग्न थिए। गौरीकुमारी यादवले रास्वपाबाट निर्वाचित भएपछि पति यादव पनि रास्वपामा लागेका छन्, जिल्ला सभापति शुभम यादवले जानकारी दिए। नवनियुक्त मन्त्री यादवले आईएस्सीसम्मको अध्ययन गरी ५४ वर्षीया हुन् र महोत्तरी संग्रामपुर क्षेत्रबाट फराकिलो मतान्तरले निर्वाचित भएकी थिइन्। उनले ३० हजार १३२ मत पाएर विजयी हुँदा, दोस्रो स्थानमा रहेकी जसपाका सुरेन्द्रकुमार यादवभन्दा करिब २२ हजार मतले माथि रहेकी थिइन्।






