
२७ चैत, काठमाडौं । युनिटी लाइफ इन्टरनेशनल लिमिटेडको ठगी मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गरेर फरार रहेका सञ्चालक महेन्द्र केसीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शुक्रवार उनलाई काठमाडौंको सामाखुसीबाट पक्राउ गरेको जानकारी दिएको छ। बागलुङ नगरपालिका–३ का स्थायी बासिन्दा ५२ वर्षीय केसी हाल काठमाडौं महानगरपालिका–२६, सामाखुसीमा बसोबास गर्दै आएका थिए।
युनिटी लाइफको ठगी मुद्दामा केसीविरुद्ध सर्वोच्च अदालतले २०८२ साल वैशाख २ गते फैसला सुनाउँदै उनलाई २५ हजार रुपैयाँ जरिवाना र दुई वर्ष ६ महिनाको कैदको सजाय तोकेको थियो। प्रहरीले जानकारी दिएको छ कि उनी सजाय कार्यान्वयन हुनुअघि नै फरार थिए। पक्राउ परेपछि उनलाई सजाय कार्यान्वयनका लागि प्रहरीले जिल्ला अदालत ललितपुरमा पेश गरेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।






