Skip to main content

धनकुटामा १३ फिट लामो विषालु राजगोमन सर्प उद्धार

२८ चैत, धनकुटा। धनकुटा नगरपालिका–३ र ६ को सिमानामा पर्ने कागते क्षेत्रमा करिब १३ फिट लामो विषालु राजगोमन (किङ कोब्रा) सर्प उद्धार गरिएको छ। पहाडी क्षेत्रमा दुर्लभ देखिने यो सर्पको उद्धारले स्थानीयमा त्रास र चासो दुवै बढाएको छ। शनिबार धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवा निवासी सर्प उद्धारकर्मी प्रदीप श्रेष्ठले उक्त सर्पलाई सुरक्षित रूपमा नियन्त्रणमा लिए। समुद्री सतहबाट करिब १ हजार ३०० मिटर उचाइमा रहेको कागतेस्थित बोधप्रसाद वाग्लेको गोठमा तीन दिनदेखि बसिरहेको अवस्थामा सर्प फेला परेका थिए।

स्थानीयको खबरमा पुगेका श्रेष्ठले जोखिम मोलेर सर्पलाई नियन्त्रणमा लिए। उद्धार गरिएको राजगोमनलाई डिभिजन वन कार्यालय धनकुटासँग समन्वय गरी सुरक्षित रूपमा प्राकृतिक आवास (वन क्षेत्र) मा विरुवा गर्ने तयारी धनकुटा नगरपालिका–३ का वडाध्यक्ष विकास घिमिरेले जानकारी दिए। उद्धारकर्मी श्रेष्ठका अनुसार राजगोमन अत्यन्त विषालु सर्प हो, जसको टोकाइले गम्भीर अवस्था निम्त्याउन सक्छ र कसैको ज्यान समेत जान सक्छ। ‘यो सर्प सामान्य अवस्थामा आक्रमण गर्दैन, तर चलाएमा वा खतरा महसुस गरेमा आक्रामक बन्न सक्छ,’ उनले बताए।

श्रेष्ठले विगत ९ वर्षदेखि सर्प उद्धारमा सक्रिय रहेर पछिल्ला दुई वर्षमा धनकुटाको महालक्ष्मी, पाख्रीबास लगायतका स्थानबाट पाँचवटा राजगोमन सर्प नियन्त्रणमा लिएर सुरक्षित रूपमा जंगलमा छोडिसकेको बताए। उनले जलवायु परिवर्तनका कारण पहाडी र चिसो क्षेत्रमा पनि यस्ता विषालु सर्पहरू देखिन थालेका छन्, जसले मानव बस्तीमा जोखिम बढाउन सक्ने संकेत गरेको बताए।