सार्वजनिक जीवनमा रहेका सबैको सम्पत्ति छानबिन अनिवार्य छ : नेता वर्षमान पुन

नेकपा नेता वर्षमान पुनले कालो धनलाई वैध बनाउने कार्यलाई अपराध मान्दै यसलाई रोकथाम गर्न सरकारको नियमित जिम्मेवारी भएको बताएका छन्। उनले २०४८ सालपछि सार्वजनिक पदमा रहेका सबै उच्चस्तरीय व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन्। २८ चैत, काठमाडौं।
नेता पुनले शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै भने, “म आफैं अर्थमन्त्री हुँदा कानून बनाएको हुँ, कालो धनलाई वैध बनाउन पाइँदैन, मनी लन्ड्रिङ गर्न पाइँदैन। सरकारले त्यसका लागि आवश्यक प्रक्रिया तयार पारेको छ।” उनले सम्पत्ति नियन्त्रण र नियमनका लागि विभाग रहेको र यसलाई कार्यान्वयन गर्नु सरकारको नियमित कार्य भएकाले यो महत्त्वपूर्ण रहेको बताए।
उनले थपे, “सम्पत्ति छानबिन गरेपछि हामी २०४८ सालपछि सार्वजनिक जीवनमा रहेका सबै उच्चस्तरीय व्यक्तिहरूको सम्पत्ति छानबिन गरौं। एकअर्कालाई आरोप लगाउने भन्दा पहिला थाहा हुन्छ, को हो र कालो धनलाई सेतो बनाउने को हो भनेर। त्यसैले छानबिन आवश्यक छ।”






