Skip to main content

स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्य प्रशासक र स्वास्थ्य बीमा बोर्डका निर्देशकलाई स्पष्टीकरण माग्यो

२८ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमुख जनस्वास्थ्य प्रशासक डा. भीमप्रसाद सापकोटा र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेललाई स्पष्टीकरण मागेको छ । मन्त्रालयले उनीहरूलाई स्वास्थ्य बीमा बोर्डको सदस्य नियुक्ति सम्बन्धी विषयमा स्पष्टीकरण सोधेको हो । स्वास्थ्य बीमा बोर्डको सदस्य नियुक्ति र बैठकमा उपस्थितिको विषयमा सञ्चारमाध्यममा आएका समाचारहरूबारे मन्त्रालयले प्रमुख जनस्वास्थ्य प्रशासक सापकोटा र कार्यकारी निर्देशक पौडेललाई तीन दिनभित्र स्पष्टीकरण पेश गर्न भनेको छ।

सञ्चारमाध्यमहरूमा स्वास्थ्य बीमा बोर्डको सदस्य नियुक्ति, माइन्युटका विषयहरू, निर्णय र उपस्थितिसम्बन्धी कागजात तयार गर्ने प्रक्रियामा कर्मचारीहरूको भूमिका रहेको विषय सार्वजनिक भएको थियो। मन्त्रालयको कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत दिपेन्द्र दहालद्वारा हस्ताक्षर गरिएको पत्रमा सापकोटा र पौडेललाई उक्त विषयमा संलग्नता र भूमिका रहे–नरहेको तथा समस्या किन देखिएको हो भन्ने विषयमा तीन दिनभित्र जवाफ मन्त्रालयमा बुझाउन भनिएको छ। निष्क्रिय रहेका बोर्ड सदस्य जुनु श्रेष्ठलाई पुनः बैठकमा सहभागी गराएपछि विवाद उत्पन्न भएको थियो। श्रेष्ठ हालै पदमुक्त भएका मन्त्री दीपक साहका पत्नी हुन्। मन्त्री साहलाई पदको मर्यादा दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यको रूपमा नियमित कार्यमा संलग्न गराएको भन्दै राप्रपाले फिर्ता बोलाएको हो।