Skip to main content

डोल्पामा प्रमुख जिल्ला अधिकारीको रूपमा सेवा गरिरहेकी जुनु हमाल ढकाल

डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले विकट भूगोल र सीमित स्रोतहरू हुँदाहुँदै पनि निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकी छन्। उनले अष्ट्रेलिया अवार्ड्स छात्रवृत्तिका अवसर लिएर सार्वजनिक नीतिमा स्नातकोत्तर अध्ययन गरी स्वदेशमै सेवा गर्ने निर्णय गरिन्। जुम्लाकी छोरी हमालले परिवारको साथ र आत्मविश्वासले कर्णालीका युवाहरुले आफ्नै ठाउँमा अवसर खोज्न आग्रह गरिन्। २९ चैत, डोल्पा ।

हिमालपारिको विकट भूगोल, कठिन प्रशासनिक चुनौती र सीमित अवसरबीच डोल्पाको प्रशासनिक नेतृत्व सम्हालिरहेकी छन् जुनु हमाल ढकाल। तर उनको यात्रा केवल सरकारी पदसम्म पुग्नुको कथा मात्र नभएर, कर्णालीकी एक छोरीले संघर्ष, आत्मविश्वास र पारिवारिक समर्थनबाट बनाएको प्रेरणादायी जीवनयात्रा हो। उनले आफ्नो जीवनका संघर्ष, अवसर र सिकाइका अनुभवहरू सुनाइन्। जुम्लामा जन्मिएकी उनले आफ्नो बाल्यकाल याद गर्दै भनिन्, ‘म जुम्लाकी छोरी हुँ। मेरो कागजपत्रमा अझै स्थायी ठेगाना जुम्ला नै छ। अहिले डोल्पामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्दै छु, तर मेरो पहिचान कर्णालीकी छोरीको नै हो।’

उनको बाल्यकाल जुम्लामै बित्यो। त्यो समय गाउँमा छोरालाई राम्रो विद्यालय र छोरीलाई सरकारी विद्यालय पठाउने चलन सामान्य थियो। तर उनका अभिभावकले चार छोरी र एक छोरालाई समान अवसर दिए। आर्थिक कठिनाइ हुँदाहुँदै पनि उनले जुम्लाकै अंग्रेजी माध्यमको राम्रो विद्यालयमा पढाइ गरिन्। यही पारिवारिक सोचले उनको भविष्यको आधार तयार पार्यो। विद्यालय तहमा राम्रो पढाइका कारण परिवार उनलाई डाक्टर बनाउने चाहन्थ्यो। तर हमालको सोच फरक थियो। सानैदेखि उनी जीवनमा सरल तर अर्थपूर्ण उपलब्धि हासिल गर्ने सपना देख्थिन्। विज्ञानमा प्लस टु र बायोकेमेस्ट्रीमा स्नातक गरे पनि उनको मन सार्वजनिक सेवातिर लोभियो। कर्णालीमा लोकसेवा तयारीका स्रोत नहुँदा पनि उनले हार मानिनन्, जुम्लामै बसेर स्वअध्ययन गरिन् र परीक्षा दिन मात्र काठमाडौं पुगिन्। ‘मैले फाराम भरिएका धेरैजसो सेवामा लिखित परीक्षा उत्तीर्ण गरें,’ उनले भनिन्।

अन्ततः २०६९ सालमा शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गरिन्। सरकारी सेवासँगै उनले परिवारको जिम्मेवारी पनि सम्हालीन्। विवाह, सन्तान र जागिरबीच सन्तुलन कायम गर्दै उनले विभिन्न जिल्ला र मन्त्रालयमा काम गर्ने अवसर पाईन्। यस्तै यात्रामा उनले आफ्नो क्षमता अन्तर्राष्ट्रिय स्तरमा पनि प्रमाणित गरिन। अष्ट्रेलिया सरकारको प्रतिष्ठित छात्रवृत्ति ‘अष्ट्रेलिया अवार्ड्स’ जितेर क्यानबेरा पुगेकी उनले सार्वजनिक नीतिमा स्नातकोत्तर अध्ययन गरिन्। जुम्लाको दुर्गम गाउँदेखि विश्वको विकसित शैक्षिक वातावरणसम्मको यात्राले उनलाई जीवन दृष्टिकोण फराकिलो बनाउन मद्दत गर्यो।

उनका अनुसार, कठिनाइलाई ठूलो बनाएर हेर्नुभन्दा जीवनलाई फराकिलो दृष्टिले बुझ्नुपर्छ। ‘ठूला दु:ख पनि संसारमा हेर्दा साना लाग्छन्। आफूलाई बलियो राख्न सिक्नुपर्छ,’ उनले भनिन्। विदेशमा उच्च अध्ययन र आकर्षक अवसर हुँदाहुँदै पनि उनले स्वदेशमै फर्केर सेवा गर्ने निर्णय गरिन्। दक्षिण कोरियामा उच्च अध्ययनका लागि छात्रवृत्ति पाएर पनि उनले त्यागेको अनुभव बताउँदै भनिन्, ‘मलाई केवल उपलब्धि होइन, जीवन सन्तुलन, समाजमा योगदान र आफ्नै ठाउँमा केही गर्ने इच्छाले अघि बढायो।’

अहिले डोल्पामा प्रमुख जिल्ला अधिकारीको रूपमा उनले तीन महिने काम गर्ने अनुभवलाई आफ्नो जीवनकै सबैभन्दा सन्तोषजनक समय ठान्छिन्। विकट भूगोल, सीमित स्रोत र हिउँदको कठोर मौसम विच निर्वाचन सम्पन्न गराउनु उनको लागि ठूलो परीक्षा थियो। विशेषगरी माथिल्लो डोल्पाजस्ता दुर्गम क्षेत्रमा व्यवस्थापन चुनौतीपूर्ण भए पनि उनले सफलतापूर्वक जिम्मेवारी पूरा गरिन्। ‘डोल्पा पुगेपछि मैले यहाँको सुन्दरता र अपनत्व नजिकबाट बुझें। अहिले मेरो करियरकै सबैभन्दा खुसी समय यही हो,’ उनले सुनाइन्। आफ्नो सफलताको आधारमा उनले परिवारको समर्थनलाई मुख्य कारण मानेकी छन्। बाबुआमा, श्रीमान् र ससुरालीको साथले आफूलाई अघि बढ्न सजिलो भयो। ‘एउटा छोरी, बुहारी वा श्रीमतीलाई परिवारको साथ भयो भने धेरै दूरसम्म पुग्न सक्छ,’ उनको भनाइ थियो। कर्णालीका युवायुवती, विशेषगरी छोरीहरूलाई आफ्नै ठाउँमा सम्भावना खोज्न उनले आग्रह गरिन्। ‘विदेश अन्तिम विकल्प होइन। अवसर यहीँ पनि छन्। आफूलाई विश्वास गर्नुपर्छ, मेहनत गर्नुपर्छ अनि आफ्नो माटोलाई माया गर्नुपर्छ,’ उनले भनिन्। जुम्लाकी सामान्य छोरीबाट डोल्पाको प्रमुख जिल्ला अधिकारीसम्मको जुनु हमाल ढकालको यात्रा कर्णालीका हजारौं युवाका लागि प्रेरणादायी सन्देश बनेको छ — ठूलो सपना देखेका भए पुग्न सकिन्छ, यदि आत्मविश्वास र निरन्तरतासहित प्रगति गरियो भने।