Skip to main content

केपी शर्मा ओली: के एमाले नेतृत्व छोड्नेछन् कि वाम एकताको विकल्प खोज्नेछन्?

निर्वाचनमा पराजयपछि उठेको नेतृत्व परिवर्तनको आवाज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रहरी नियन्त्रणमै रहँदा झन् बढेको देखिन्छ। संसदीय दलको नेताको निर्वाचन र निर्वाचित रामबहादुर थापाको अभिव्यक्तिले यसलाई थप बलियो बनाएको छ र असन्तुष्टि सार्वजनिक रूपमा व्यक्त हुन थाल्यो। तर प्रहरी नियन्त्रणमा रहेका बेला पार्टीभित्रैबाट नेतृत्वमाथि आक्रमण भएको भन्दै ओलीसँग निकट नेताहरूले त्यसको रक्षा गर्ने प्रयास गरेका छन्। प्रहरी नियन्त्रणमुक्त भएपछि पनि अस्पतालमै रहेका ओलीको सोमवार कलेजोको शल्यक्रिया गरिएको छ। नेतृत्व परिवर्तनका समर्थक एमाले नेताहरू र कार्यकर्ताहरूले ओली तङ्ग्रिएपछि यो विषयलाई फेरि जोडदार रूपमा उठाउने तयारीमा रहेको बताइएको छ। “गल्तीहरुलाई सुधार्दै एक गतिशील पार्टीको रूपमा विकास गर्नु छ भने अबका नेतृत्वहरूले ठाउँ खाली गर्नु आवश्यक छ। यसको कुनै विकल्प छैन,” एमाले नेता टङ्क कार्कीले भने। “पार्टीको सम्पूर्ण तहमा आत्ममूल्यांकन गर्न आवश्यक ठानिएको छ। त्यसको ठोस अभिव्यक्तिका रूपमा आफ्नो अभ्यासलाई तीव्र बनाउनु पर्छ।” अहिलेको अवस्थालाई आधार मानेर अघि बढ्दा प्रगतिशील र प्रभावशाली पार्टी बन्न नसकिने ठहर गर्दै उनले नेतृत्वको विकल्प खोज्नु अनिवार्य रहेको बताए।

केहि महिना अघि मात्रै एमालेको महाधिवेशनबाट उच्च मत प्राप्त गरेर ओली पार्टी अध्यक्षमा निर्वाचित भएका थिए। पदाधिकारीदेखि केन्द्रीय कमिटीसम्म अधिकांश उनका निकटस्थ नेताहरू नै विजयी बनेका छन्। उनीहरूमध्ये धेरैले ओलीको नेतृत्वमा अघि बढ्न नसकिने, नेतृत्वमा पुनर्गठन आवश्यक भएको महसुस गरे भने ओलीमाथि नेतृत्व हस्तान्तरणको दबाव बढ्ने लेखक तथा टिप्पणीकार झलक सुवेदीले देखाएका छन्। “अरू नेताहरूलाई पनि पार्टी कमजोर भएको छ भने आफ्नो सुरक्षाका लागि कदम चाल्नुपर्ने हुन्छ भन्ने देखिएको छ, त्यस्तो अवस्थामा ओलीले आफैं छोड्ने लागेको छैन,” सुवेदीको विश्लेषण छ, “पार्टीलाई शक्तिशाली बनाउन ठूलो संख्यामा नेताहरू हट्नु पर्ने हुन्छ, तर जबसम्म ओली हट्दैनन् अरूलाई हटाउन सकिंदैन।” नेतृत्व परिवर्तन समर्थकहरूले ओलीले स्वैच्छिक रूपमा नेतृत्व छोड्न नसकेमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान पनि चलाउने घोषणा गरेका छन्। नेता टङ्क कार्कीले पनि ओलीले स्वैच्छिक रूपमा बाटो खुला गरिदिए त्यो सबैभन्दा सहज उपाय हुने ठानेका छन्। “नत्र त विशेष महाधिवेशन बाहेक कुनै विकल्प छैन,” उनले भने।

तर ओली निकटस्थहरू यसलाई “स्वैच्छिक भए पनि बाध्यतापूर्ण बहिर्गमन” मान्दछन्। राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेलको विश्लेषण अनुसार ओलीले सजिलै पदबाट राजीनामा गर्ने सम्भावना कम देखिन्छ। तर एमालेभित्र पुस्तान्तरण र विशेष महाधिवेशनको माग बढ्ने देखिन्छ। यसमा पूर्वराष्ट्रपति विद्या भण्डारीको पनि समर्थन रहने प्राध्यापकको अनुमान छ। “तर एमालेलाई आजको अवस्थामा डिल गरेर लगिएको छ कि निकट भविष्यमा विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्ला जस्तो देखिँदैन। केहि समयसम्म झमेलामा फसेर बस्ने देखिन्छ,” प्राध्यापक पोखरेलले भने। जेन जी आन्दोलनमा युवाहरूको मृत्युको आरोपमा पक्राउ परेका ओली प्रहरीले नियन्त्रणबाट बाहिर आए पनि सरकार उनको विरुद्ध अन्य मुद्दाहरू लगाउन सक्ने आशंका एमालेकै कतिपय नेताहरूले गरेका छन्। सरकारले गिरीबन्धु टी इस्टेट, कोभिड महामारीमा स्वास्थ्य सामग्री खरिद, नक्कली भुटानी शरणार्थी लगायतका मुद्दामा अनुसन्धान बढाउने सम्भावना हेर्दै उनीहरूले यस्तो अनुमान गरेका हुन्।

विश्लेषक झलक सुवेदीका अनुसार ती अवस्थामा प्रहरीले पहिले पक्राउ परेका बेलामा पार्टीले गरेको सशक्त प्रतिरोध जस्तै आगामी मुद्दाहरुलाई पनि ओलीको बचाउ गर्ने अस्त्रको रूपमा प्रयोग गर्न खोज्न सक्छ। तर राजनीतिशास्त्री पोखरेलले आउँदा दिनहरूमा ओलीका बिरुद्ध थप प्रतिकूलता आउने भविष्यमान गरेका छन्। “यस अवस्थामा उहाँको राजनीतिक भविष्य लगभग समाप्त छ, उहाँले सम्मानजनक रूपमा आफ्नो विकल्प आफैंले चुन्नु हुनेछ,” उनले भने, “विभिन्न मुद्दामा उल्टाइदा बदला खोजेको भन्लान् तर सभ्य जनताले त्यसलाई स्वीकार गर्ने छैनन् र कार्यकर्ताहरूले पनि त्यसलाई लिएर कहिलेसम्म अघि बढ्ने हुन्?” एमाले नेता टङ्क कार्की भन्छन् निर्वाचनमा पराजयपछि ओलीले स्वैच्छिक रूपमा बाटो खुला गर्ने सम्भावना कम देखिन्छ। नेतृत्वले सजिलै मार्ग प्रशस्त नगरेपछि तल्लो कमिटीबाट हस्तक्षेपको बाटो खुलाउनु पर्ने उनी बताउँछन्। त्यसको विकल्प के हो? “अहिलेको व्यक्ति केन्द्रित ढाँचामा होइन, पार्टीको प्रस्तावना र सामाजिक यथार्थलाई प्रतिबिम्बित गरी आजका चुनौतीहरूको सामूहिक अवधारणासँग पार्टीलाई पुनर्गठन गर्नुपर्छ,” उनले थपे। फागुनमा सम्पन्न चुनावमा एमालेसँगै नेकपा लगायतका वामपन्थी दलहरूको शक्ति धेरै कमजोर भएको छ। जेन जी आन्दोलनसँगै उठेको नेतृत्व परिवर्तनको आवाज चुनावी परिणामपछि झनै तेज भएको छ। पार्टीभित्रबाटै हटाउने प्रयास र विभिन्न मुद्दाहरूको जोखिमबीच वाम एकता प्रचण्ड र ओलीले फेरि उठाउन सक्छन् भन्ने अनुमान पनि कतिपयले गरेका छन्। लेखक र टिप्पणीकार सुवेदी पनि यो सम्भावनालाई अस्वीकृत गर्दैनन्। “माधव नेपाल र प्रचण्डले पार्टी एकता गरेर अहिलेसम्म आफूहरूको नेतृत्वमाथिको चुनौतीलाई निभाएर आएका छन्,” प्रचण्ड र ओलीले आफ्नो अस्तित्वको रक्षा गर्न सक्ने सम्भावित चालबाजीबारे सुवेदी भन्छन्, “दुवैले एकता महाधिवेशनसम्म नेतृत्व कायम राख्ने बताउँदा तलका नेताहरूलाई ‘हुँदैन’ भन्न गाह्रो हुने हुन्छ भने यो अवस्थामा अचम्म मान्नु पर्दैन।” नेकपा माओवादी केन्द्रमा नेतृत्व परिवर्तनको आवाज उठ्नासाथ माधव नेपालसँग भएको एकता पुनः सक्रिय भएको देखिन्छ। दुवै नेताले पार्टी नेतृत्व जारी राखेका छन्। राजनीतिशास्त्री पोखरेलले पनि बढ्दो चुनौतीहरूका कारण ओलीले वामपन्थी एकताको बाटो खोज्न सक्ने ठानेका छन्। “यदि जोखिम टाउकोभन्दा माथि पुग्यो भने वामध्रुवीकरण तथा एकीकरण गरेर आफूलाई टिकाउने बाटो खोज्नेछन्,” उनले भने, “तर यसले नेताहरूलाई निलम्ण गर्ने सम्भावना देखिँदैन। आखिर उनीहरू अब आकर्षक राजनीतिक पात्र होइनन्।