Skip to main content

आर्कटिकका हिमपोखरीहरूले बादल निर्माण र जलवायु परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाहा गर्दै

आर्कटिक क्षेत्रको हिमनदी पग्लेर बनेका साना पोखरीहरूबाट निस्कने सूक्ष्म कणहरूले बादल निर्माण र जलवायु परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् भन्ने नयाँ अनुसन्धानले देखाएको छ। कोलोराडो स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले ‘जियोफिजिकल रिसर्च लेटर्स’ मा प्रकाशित गरेको प्रतिवेदनअनुसार, समुद्री बरफको माथिल्लो तहमा अवस्थित यी ‘मेल्ट पोन्ड’ बाट उत्सर्जित जैविक कणहरूले बादल बन्ने आधार तयार पार्छन्। आर्कटिक क्षेत्र विश्वका अन्य क्षेत्रहरूभन्दा चार गुणा छिटो तातिरहेको अवस्थामा, यस अनुसन्धानले त्यहाँको मौसम प्रणालीमा नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ।

वैज्ञानिकहरूको भनाइ अनुसार यी साना कणहरू ब्याक्टेरिया जस्ता जैविक स्रोतबाट उत्पन्न हुन्छन्। जब यी कणहरू वायुमण्डलमा प्रवेश गर्छन्, तिनीहरूले जलवाष्पलाई जम्न सहयोग पुर्‍याएर बादल निर्माणमा टेम्प्लेटको रूपमा काम गर्छन्। यी पोखरीहरू पग्लिएको हिउँ र समुद्री पानीको मिश्रणबाट बनेका हुन्छन्, जहाँ साना जीवजन्तु र माटोका कणहरू समेत हुन्छन्। अनुसन्धानले देखाएको छ कि समुद्री पानीको तुलनामा यस्ता पोखरीहरूमा बादल बनाउन सक्ने कणहरूको मात्रा बढी पाइन्छ।

बादलले सूर्यबाट आउने किरणहरू र पृथ्वीबाट निस्कने तापलाई सन्तुलनमा राख्ने कार्य गर्छ। यदि यी पोखरीहरूको संरचनामा सानो पनि परिवर्तन भएमा त्यसले आर्कटिकको समग्र मौसम र तापक्रममा ठूलो प्रभाव पार्न सक्छ। यो अध्ययन ‘मोज्याक एक्स्पिडिसन’ अन्तर्गत संकलित नमूनाहरूको आधारमा गरिएको हो, जुन आर्कटिक जलवायु परिवर्तन अध्ययनका लागि सञ्चालित १५ करोड अमेरिकी डलरको अन्तर्राष्ट्रिय अभियान हो।

अध्ययनकी प्रमुख लेखिका क्यामिल माभिसका अनुसार, हालका मौसम मोडेलहरूले ध्रुवीय क्षेत्रका बादलहरूलाई ठीकसँग चित्रण गर्न सकिरहेका छैनन्। यो नयाँ खोजले भविष्यमा मौसम पूर्वानुमान र जलवायु परिवर्तनको प्रभावको वर्गीकरण गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ। आर्कटिकमा हिमनदी पग्लने क्रम बढ्दै गएसँगै यस्ता पोखरीहरूको संख्या वृद्धि हुनेछ र यसले जलवायु प्रणालीमा गहिरो प्रभाव पार्ने वैज्ञानिकहरूले बताएका छन्।