काठमाडौं, ग्रेट हिमालय र नेक्सस विजयी – गौरिशंकर सुपर लिग यू-१७ क्रिकेट प्रतियोगिता

गौरिशंकर सुपर लिग यू–१७ क्रिकेट प्रतियोगितामा काठमाडौं जिल्ला यू–१७, ग्रेट हिमालय र नेक्सस टोलीले महत्वपूर्ण जीत हासिल गरेका छन्। काठमाडौं जिल्ला यू–१७ ले रेडियन्ट क्रिकेट एकेडेमी यू–१७ लाई ५८ रनले हरायो। पहिलो ब्याटिङ गर्दै काठमाडौंले १५ ओभरमा ८ विकेट गुमाएर १०९ रन जोड्यो। करण यादवले २२, विशाल बुढाले २० र शुभा रेग्मीले १५ रन बनाए। सौर्य सिंह ठाकुरी १२ रनमा अविजित रहे भने अतिरिक्तबाट २७ रन थपियो। बलिङतर्फ रेडियन्टका मुन्ना जयसवालले ४ विकेट लिए भने मोहम्मद आमिरले २ विकेट लिए। जवाफमा ११० रनको लक्ष्य पछ्याएको रेडियन्ट १३.४ ओभरमा ५१ रनमै अलआउट भयो। मोहम्मद आमिर (१३) र अंकित कुमार (१४) बाहेक अन्य ब्याटरले प्रभावशाली प्रदर्शन गर्न सकेनन्। काठमाडौंका पारख रसाइली, दिवास क्षेत्री र सौर्य सिंह ठकुरीसहितका बलरहरूले उत्कृष्ट बलिङ गरे।
दोस्रो खेलमा ग्रेट हिमालय क्रिकेट एकेडेमी यू–१७ ले जोरपाटी क्रिकेट एकेडेमी यू–१७ लाई ८६ रनले पराजित गर्यो। ग्रेट हिमालयले १५ ओभरमा ५ विकेट गुमाएर १४६ रन जोड्यो। सुप्रिम सुनारले ४१, स्पर्श तामाङ्ले ३१ र अनिकेत गजुरेलले २६ रन बनाए। जोरपाटीका सागर र सोहितले २–२ विकेट लिए। १४७ रनको लक्ष्य पछ्याएको जोरपाटी १४.२ ओभरमा ६० रनमै अलआउट भयो। आरोन जंग गिरीले २१ र निमेश योञ्जनले १५ रन बनाए। ग्रेट हिमालयका सागर बी र कमल शाहीले ३–३ विकेट लिए।
तेस्रो खेलमा नेक्सस क्रिकेट एकेडेमी यू–१७ ले भक्तपुर क्रिकेट सेन्टर यू–१७ लाई ७ विकेटले हरायो। भक्तपुर ९.५ ओभरमा ५४ रनमै अलआउट भयो, जसमा श्रेराज वीर श्रेष्ठले १९ रन बनाए। नेक्ससका सिमोन पन्तले ४ र लोकेन्द्र कार्कीले ३ विकेट लिएका थिए। ५५ रनको लक्ष्य नेक्ससले ९.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। सरजिल अली मन्सारी १७ रनमा अविजित रहे भने आरव श्रेष्ठले १३ रन जोडेर जित सुनिश्चित गरे।






