Skip to main content

इरान युद्ध: सामुद्रिक नाकाबन्दी के हो र होर्मुज जलमार्गमा कसरी लागू हुन्छ?

सोमवारदेखि इरानी बन्दरगाहबाट आउने र त्यहाँ जाने सबै पानीजहाजहरूलाई रोक्ने अमेरिकी सेनाले जनाएको छ। अन्य स्थानबाट आवतजावत गर्ने पानीजहाजहरूलाई होर्मुज जलमार्गबाट आवतजावत गर्न अनुमति दिइनेछ। इरानले अमेरिकी-इजरायली आक्रमणपछि विश्वव्यापी व्यापारका लागि महत्वपूर्ण उक्त जलमार्गमा अवरोध सिर्जना गर्दै आएको छ। फेब्रुअरी २८ मा शुरू भएको आक्रमणपछि गत सप्ताहान्त इरान-अमेरिका वार्ता असफल भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त जलमार्गमा अमेरिकाले सामुद्रिक नाकाबन्दी लगाउने चेतावनी दिएका छन्। इरानले आफ्नो परमाणु महत्वाकाँक्षा नत्यागेकाले वार्ता असफल भएको ट्रम्पको दाबी छ। तर इरानका विदेश मन्त्रालयका प्रवक्ताले भने अमेरिकालाई अत्यधिक माग र अवैध अनुरोधको दोष लगाएका छन्।

आइतबार ट्रुथसोशलमा पोस्ट गर्दै ट्रम्पले होर्मुज जलमार्गमा आवतजावत गर्ने सबै पानीजहाज रोकिने बताएका छन्। “मैले हाम्रो जलसेनालाई इरानलाई शुल्क तिरेका कुनै पनि जहाजलाई अन्तर्राष्ट्रिय जलक्षेत्रमा रोक्न आदेश दिएको छु,” ट्रम्पले भने। साथै जलमार्गमा बिच्चाइएका विस्फोटक पदार्थलाई अमेरिकाले नष्ट गर्न थाल्ने उनले बताए। यदि कुनै इरानीले हाम्रो वा शान्तिपूर्ण जहाजलाई आक्रमण गरे उनीहरुलाई “नरकमा पुर्‍याइने” उनले चेतावनी दिएका छन्।

अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार सोमबार साँझदेखि नाकाबन्दी सुरु गरिनेछ। “अरब खाडी र ओमानको खाडीमा रहेका सबै इरानी बन्दरगाहबाट आवतजावत गर्ने सबै देशका जहाजहरूलाई बिना भेदभाव नाकाबन्दी लागू हुनेछ,” सेन्टकमले जनाएको छ। ट्रम्पले अरू देशहरू पनि नाकाबन्दीमा सहभागी हुने भए तापनि ती देशहरूको नाम खुलाएका छैनन्; यूकेले यसमा भाग नलिने जानकारी छ।

विश्लेषकहरूका अनुसार ट्रम्पका यी टिप्पणीहरू इरानमाथि अमेरिकी शर्तहरू स्वीकार गराउन दबाव हुन्। सीबीएससँग कुराकानीमा रिपब्लिकन कङ्ग्रेसम्यान माइक टर्नरले होर्मुज जलमार्गको गतिरोध अन्त्य गर्न नाकाबन्दी उपयुक्त उपाय हुनसक्ने बताए। तर भर्जिनियाका डेमोक्र्याट सिनेटर मार्क वार्नरले नाकाबन्दीले इरानलाई जलमार्ग खोल्न बाध्य पार्ने उपाय कसरी काम गर्छ भन्ने आफूले बुझ्न नसकेको बताए।