
राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्षलाई साझा राष्ट्रिय लक्ष्य निर्धारण गर्ने र त्यसलाई सफलतापूर्वक पूरा गर्ने दृढ सङ्कल्प गर्ने अवसरका रूपमा व्याख्या गर्नुभएको छ। उहाँले नयाँ सरकार स्थापना भइसकेको र जनताले विधिको शासन, दिगो शान्ति र विकासको अपेक्षा गरेको बताउनुभयो। राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणराज्य शासन प्रणालीमा निष्ठावान् हुनु, सुशासन र सामाजिक न्यायप्रति प्रतिबद्ध रहन अनिवार्य रहेको जोड दिनुभयो। १ वैशाख, काठमाडौं।
राष्ट्रपति पौडेलले नयाँ वर्ष २०८३ को अवसरमा सुख, शान्ति, समृद्धि, राम्रो स्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्दै लक्ष्यहरू सजिलै प्राप्त नहुने, त्यसका लागि दृढ सङ्कल्प र कठोर प्रयास आवश्यक पर्ने बताएका छन्। उहाँले निर्धारित लक्ष्य हासिल गर्न विधि तथा विधानको पालना अनिवार्य र सुसंस्कृत आचरण आवश्यक रहेकोमा जोड दिनुभयो।
राष्ट्रपति पौडेलले देशका विभिन्न संवतहरू हाम्रो इतिहास, सभ्यता र सामाजिक जीवनका महत्वपूर्ण अङ्ग भएको स्मरण गर्दै तीले नेपालको गौरवमय अतीतलाई सम्झाउने र निरन्तर प्रगतिशील भविष्यतर्फ अघि बढ्न प्रेरित गर्ने बताएका छन्। उहाँले भन्नुभयो, ‘हामी नेपालीहरूले नयाँ वर्षलाई विशेष दिनका रूपमा मान्दै विगतको समीक्षा गर्ने तथा आगामी कार्यका लागि प्रतिज्ञा र सङ्कल्प गर्ने शुभसाइतका रूपमा मनाउँदै आएका छौँ।’
राष्ट्रपति पौडेलले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भइसकेको र देशमा देखिएका जटिल परिस्थितिहरू समाधान भएको उल्लेख गर्दै नयाँ जनादेशका आधारमा नयाँ सरकार गठन भइसकेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘यो निर्वाचनमार्फत नेपाली जनताले संघीय लोकतान्त्रिक गणराज्य शासन प्रणालीमा आधारित विधिको शासन, दिगो शान्ति, सुशासन, सामाजिक न्याय र समृद्धिको चाहना प्रकट गरेका छन्।’
राष्ट्रपति पौडेलले नयाँ वर्षले संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य हासिल गर्न सङ्कल्प र सामर्थ्य प्रदान गरोस् र नेपालीबीचको विश्वास, सद्भाव, सहिष्णुता र सहकार्यलाई अझ प्रगाढ बनाएर राष्ट्रिय एकतालाई मजबुत पार्न प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गर्नुभएको छ।






