
निर्माणाधीन उद्योगको अवलोकन गर्दै सभामुख डीपी अर्याल। १ वैशाख, धादिङ। आर्थिक मन्दी, लगानीकर्ताहरूको संकोच र विश्वव्यापी द्वन्द्वका प्रभावले देशको अर्थतन्त्र प्रभावित बनेको छ। यस्ता चुनौतीहरू बीच पनि धादिङको नीलकण्ठ नगरपालिका वडा नं ८, कमेरे गाउँमा नयाँ उद्योग स्थापना हुँदैछ। गत भदौमा भएको जनजी आन्दोलन, आयात–निर्यात अवरोधहरू र लगानीमैत्री वातावरणको अभावका कारण निजी क्षेत्र थलिइरहेको बेलामा सुरु गरिएको यो परियोजनाले स्थानीयहरू माझ कृषि र उद्योगलाई सँगसँगै अघि बढाउने विश्वास जगाएको छ। धादिङ सदरमुकाम धादिङबेंसी नजिकै रहेको कमेरे गाउँमा अहिले उद्योगका संरचनाहरू निर्माणाधीन छन् र भारी मेसिनरी जडान भईरहेको छ। कामदारहरूको चहलपहल र किसानहरूको उत्साहित दृष्टिले त्यहाँ नयाँ ऊर्जा उत्पन्न भइरहेको छ।
किसानहरूमा जागेको आशा: १ अर्ब ५० करोड रुपैयाँ लगानीमा स्थापना हुँदै गरेको यो उद्योगको वरपर ६/७ वटा ठूलो खेतीयोग्य क्षेत्र छन्– कमेरे फाँट, कोइराले फाँट, तल्लोबेंसी फाँट, ससाह फाँट, बिर्ताबेंसी फाँट र जलविरे फाँट। यी क्षेत्रमा परम्परागत रूपमा धान र मकै खेती हुँदै आएको छ। हिउँदे बालीको रूपमा आलुको प्रशस्त सम्भावना भएतापनि बजारको अभावले किसानहरूले सामान्य मात्रामा मात्र घरायसी प्रयोजनका लागि आलु खेती गर्दै आएका थिए। अब सोही क्षेत्रमा आलु सम्बन्धी उद्योग स्थापना भएपछि किसानहरूमा नयाँ आशा जागेको छ। उद्योगले किसानहरूलाई आलु उत्पादनमा प्रोत्साहन गर्ने र उत्पादित आलु खरिद गर्ने योजना बनाएको छ।
नीलकण्ठ नगरपालिका वडा नं ८ को सिफारिसमा स्थानीय कृषकहरूलाई आलु भण्डारणमा २५ प्रतिशत छुट दिने घोषणा गरिएको छ। त्यस्तै, उत्तरी धादिङका प्रख्यात आलुखेती गर्ने बासिन्दाहरूलाई पनि यो उद्योगले नयाँ आशा दिएको छ। उच्च हिमाली क्षेत्रका आलुहरू बजार नपाउँदा फालिनु पर्ने अवस्थामा अहिले राम्रो बजार पाउने सम्भावना बढेको छ। नीलकण्ठ नगरपालिका वडा नं ८ का सीताराम कोइरालाले भने, “धानखेती र घरायसी प्रयोजनका लागि मात्रै खेती हुने ती क्षेत्रहरूमा अब आलु खेती सफल हुने छ। खेतबाट सिधै उद्योगमा आलु बिक्री हुन थालेपछि किसानहरू निकै उत्साहित भएका छन्।”
स्थानीयलाई रोजगारीको अवसर: उद्योग पूर्ण सञ्चालनमा आएपछि करिब २०० जनाले प्रत्यक्ष रोजगारी पाउने सञ्चालक रमेशभाइ अधिकारीले बताए। त्यस्तै, लगभग २० हजार किसान अप्रत्यक्ष रूपमा लाभान्वित हुने उनको दाबी छ। स्थानीय युवालाई रोजगारी दिन प्राथमिकता दिइने भएकोले वैदेशिक रोजगारीभन्दा आफ्नो ठाउँमै सीप सिकेर काम गर्ने अवसरहरू प्रदान गर्ने योजना अधिकारीले बताए। जर्मन प्रविधिमा आधारित पूर्ण स्वचालित प्रणाली जडान भैरहेको छ जसले नेपाली कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन मद्दत गर्ने लक्ष्य राखेको छ। सामान्यतया कच्चा मालमै सीमित रहेको कृषि उत्पादनलाई प्रशोधन गरी मूल्य अभिवृद्धि गर्ने प्रयासले देशको व्यापार सन्तुलनमा समेत सकारात्मक प्रभाव पार्ने सम्भावना छ। उद्योगले दैनिक १० टन आलु उपभोग गर्दै आलुजन्य खाद्य पदार्थ उत्पादन गर्ने जानकारी अधिकारीले दिएका छन्। औद्योगिक उत्पादनसँगै सीप विकास, प्रविधि हस्तान्तरण र स्थानीय जनशक्तिको सदुपयोग गरी ‘आर्थिक इकोसिस्टम’ निर्माण गर्ने उद्देश्य स्थानीय उद्योगीहरूले राखेका छन्।
नयाँ सरकारले हौसला दिएको सभामुख डोलप्रसाद अर्यालले पहिलोपटक आफ्नो गृहजिल्ला धादिङ भ्रमणका क्रममा निर्माणाधीन उद्योग क्षेत्रको अवलोकन गर्दै निजी क्षेत्रको लगानीलाई सुरक्षित बनाउने तर्फ सरकारले गम्भीर कदम चालिरहेको बताए। अर्यालको उक्त वक्तव्यले लगानीकर्ताको हौसला र मनोबलमा वृद्धि भएको छ भन्ने व्यवसायीहरूले बताएका छन्। नेपालमा सदैव कृषि र उद्योगबीच दूरी चुनौतीको विषय रहँदै आएको छ। तर धादिङमा निर्माणाधीन यो उद्योगले कृषि उत्पादनमा वृद्धि र बजारीकरणमा सहयोग पुर्याउने नीति अपनाएकोले त्यो दूरी घट्ने संकेत देखिएको छ।






