
काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा की शुरुआत
१ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको पहलमा राजधानी उपत्यकामा आजदेखि रात्रिकालीन बस सेवा सुरु गरिएको छ। उपत्यकाका विभिन्न पालिका र साझा यातायातका बीचको सहकार्यले यो सेवा सञ्चालनमा आएको हो। अब राति ८ बजेदेखि ११ बजेसम्म समेत बस सेवा उपलब्ध हुनेछ।
साझा यातायातका बसहरूले ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ्ग अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एक रुटमा सेवा प्रदान गर्नेछन्। यो उत्तर–दक्षिण दिशा मा अवस्थित १६ किलोमिटर लामो एकतर्फी मार्ग हो। त्यस्तै, थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म अर्को रुट सञ्चालनमा रहनेछ।
पूर्व–पश्चिम दिशाको यो मार्गको दूरी एकतर्फी २० किलोमिटर छ। यी दुई रुटहरूमा जम्मा ४ वटा रात्रिकालीन विद्युतीय बसहरू चलाइनेछन्। तोकिएका बस स्टपहरूमा हरेक २० मिनेटमा बस उपलब्ध गराउने योजना रहेको जनाइएको छ। रात्रिकालीन बस सेवा शुभारम्भ कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनीता डंगोलले पनि सहभागिता जनाएकी थिइन्।