
अमेरिकी सांसदहरुको कंग्रेसनल रिसर्च सर्भिसले नेपालको नयाँ राजनीतिक नेतृत्व र सत्ता समीकरणबारे एक प्रतिवेदन सार्वजनिक गरेको छ। यस प्रतिवेदनले बालेन र रास्वपाबीचको गठबन्धनलाई ‘म्यारिज अफ कन्भिनियन्स’ अर्थात् परिस्थितिजन्य मिलनको रूपमा व्याख्या गरेको छ। प्रतिवेदनले सेप्टेम्बर २०२५ को हिंसात्मक आन्दोलन, ओलीको राजीनामा र रास्वपाको चुनावी सफलतालाई पनि समेटेको छ। १ वैशाख, काठमाडौं।
नेपालको राजनीतिमा पुराना स्थापित शक्तिहरुलाई छोडेर उदाएको नयाँ राजनीतिक नेतृत्व र सत्ता समीकरणबारे अमेरिकी संसद्को कंग्रेसनल रिसर्च सर्भिसले एउटा दस्तावेज सार्वजनिक गरेको हो। ३१ मार्च २०२६ मा प्रकाशित ‘नेपालको संसदीय निर्वाचन’ शीर्षकको उक्त प्रतिवेदनले काठमाडौंका पूर्व स्वतन्त्र मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)को गठबन्धनलाई गहिरो वैचारिक एकता भन्दा पनि ‘म्यारिज अफ कन्भिनियन्स’ अर्थात् ‘परिस्थितिजन्य मिलन’को संज्ञा दिएको छ।
अमेरिकी प्रतिवेदनले नेपालको पछिल्लो आन्तरिक राजनीतिक सङ्क्रमण, जेनजी विद्रोह, भूराजनीतिक चुनौतीहरु र त्यसले जन्माएको नयाँ सत्ता समीकरणलाई विस्तृत रूपमा चर्चा गरेको छ। यसमा रास्वपालाई तुलनात्मक रूपमा नयाँ र मध्यमार्गी राजनीतिक दलको रूपमा व्याख्या गरिएको छ। प्रतिवेदनमा उल्लेख छ कि देशका राजनीतिक नेताबीच हुने गठबन्धनको बारम्बार परिवर्तनले स्थिरता कायम हुन सकेको छैन।
प्रतिवेदनले बालेन शाहको स्वतन्त्र मेयरको पृष्ठभूमि हुँदाहुँदै पनि रास्वपासँगको चुनावी गठबन्धनलाई विश्लेषकहरुको भनाइ उद्धृत गर्दै ‘म्यारिज अफ कन्भिनियन्स’ अर्थात् स्वार्थप्रेरित रणनीतिक गठबन्धनको रूपमा वर्णन गरेको छ। यसले बालेनको मेयर हुँदा देखिएका मिश्रित ट्रयाक रेकर्ड र प्रशासनिक योजनामा स्पष्टताको अभावलाई समेत औंल्याएको छ। नयाँ सरकारले सामना गर्न सक्ने सम्भावित चुनौतीहरुलाई उल्लेख गर्दै प्रतिवेदनमा भनिएको छ, ‘नयाँ रास्वपा सरकारले आगामी दिनमा बालेन शाह र रास्वपा नेतृत्वबीच सम्भावित तनावलाई मुख्य चुनौतीका रूपमा सामना गर्नुपर्नेछ।’






