Skip to main content

आजदेखि देशभर दोस्रो आर्थिक गणना सुरु हुने

२ वैशाख, काठमाडौं । देशभर दोस्रो आर्थिक गणना आजदेखि सुरु हुँदैछ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यसका लागि देशभरका गणक र आवश्यक सुपरिवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका छन् । कार्यतालिका अनुसार स्थलगत तथ्याङ्क सङ्कलनको कार्य आगामी असारको पहिलो साताभित्र सम्पन्न गरिने छ । गणनाका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिएको छ ।

अर्थ मन्त्रालयले मुलुकको समग्र औद्योगिक तथा आर्थिक क्षेत्रसँग सम्बन्धित तथ्याङ्क सङ्कलन गरिने हुँदा यस कार्यमा सबैको योगदानको अपिल गरेको छ । गणनामा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी र निजी क्षेत्र, सार्वजनिक संस्थानहरूको संख्या, प्रकार, लगानी, रोजगार, उत्पादन र सेवा प्रवाहसमेत आर्थिक क्षेत्रका १८ वटा आधारभूत क्षेत्रको विवरण सङ्कलन गरिनेछ ।

यस क्रममा देशभर दर्ता भएका वा नभएका ठूला साना व्यापार प्रतिष्ठान, रोजगार दिने संस्था वा स्वरोजगार भएका प्रतिष्ठान, अन्य उद्योग, कलकारखाना, व्यापार व्यवसाय, गैरसरकारी संघसंस्था, सरकारी संस्था, सरकारी वा निजी स्कूल, अस्पताललगायतको गणना गरिनेछ । आर्थिक गणना तयारीका पूर्वचरण कार्यहरू फागुन महिनाको अन्त्यसम्म सम्पन्न भइसकेका छन् । चैत महिनाको सुरुवातमा ७७ जिल्ला र थप सात गरी ८४ कार्यालय स्थापना गरिएका छन् । ती कार्यालय आगामी असार महिनाको अन्त्यसम्म सञ्चालनमा रहने छन् ।

यसअघि विगत वर्ष २०७५ मा राष्ट्रिय आर्थिक गणना गरिएको थियो । त्यतिबेला देशभर नौ लाख २३ हजार ३५६ प्रतिष्ठान र व्यवसाय सञ्चालनमा रहेको विवरण सार्वजनिक गरिएको थियो ।