
ठमेलस्थित एलओडी क्लबले सन् २०२६ का लागि विश्वका उत्कृष्ट डिजे क्लबहरूको ४० औं स्थान हासिल गरेको छ। एलओडीले सन् २०२५ को ४४ औं स्थानबाट चार स्थान उक्लिँदै ४० औं स्थान प्राप्त गरेको हो। बेलायतस्थित प्रतिष्ठित म्यागजिन ‘डिजे म्याग’ द्वारा प्रकाशित ‘उत्कृष्ट सय क्लबहरू’ को सूचीमा एलओडीले ४० औं स्थान सावित गरेको छ। प्रत्येक वर्ष अन्तर्राष्ट्रिय स्तरका क्लबहरूबीचको प्रतिस्पर्धामा ‘डिजे म्याग’ उत्कृष्ट क्लबहरूको सूची सार्वजनिक गर्दै आएको छ। यस वर्षको प्रतिस्पर्धामा विश्वभर पाँच सयभन्दा बढी क्लबहरूले भाग लिएका थिए।
एलओडी क्लबका निर्देशक भुपेन कुँवरले यो सफलतालाई नेपाललाई विश्व संगीत र मनोरञ्जन उद्योगमा चिनाउने अवसरको रूपमा व्याख्या गरेका छन्। उनले भने, ‘एलओडीको यो परिचय केवल क्लबको सफलतिमा सीमित छैन, यसले नेपाललाई विश्व संगीत र मनोरञ्जन उद्योगमा चिनाउने अवसर पनि दिएको छ। शीर्ष सय क्लबहरूको सूचीमा ४० औं स्थान हासिल गर्नु रात्री जीवनशैली र पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण उपलब्धि हो। यसले अन्तर्राष्ट्रिय पर्यटक र क्लबप्रेमीहरूलाई नेपालतर्फ आकर्षित गर्नेछ।’ कुँवरले क्लबको निरन्तर विकास र स्तर वृद्धिका लागि टोली भावना, रचनात्मकता र सेवा गुणस्तरलाई मुख्य कारण भनेका छन्।






