Skip to main content

विद्यालय अध्ययनमा प्रभाव पार्ने दुई दिने विदा प्रणाली पुनरावलोकनको माग

बडिमालिका नगरपालिकाले सामुदायिक विद्यालयहरूको विदा व्यवस्थापनमा नीतिगत स्पष्टता माग गर्दै शिक्षा मन्त्रालयलाई औपचारिक पत्राचार गरेको छ। नगर प्रमुख अमर खड्काले दुई दिने विदा र चाडपर्वका कारण विद्यालयमा पठनपाठनका दिन घटेको र यसको असर सिकाइको गुणस्तरमा परेको बताएका छन्। नगरपालिकाले वार्षिक २२० शिक्षण दिन पूरा गर्न कठिन भएको उल्लेख गर्दै हप्तामा एक दिन मात्र विदा दिने व्यवस्था शैक्षिक दृष्टिले व्यवहारिक हुने सुझाव दिएका छन्।

३ वैशाख, धनगढी। संघीय सरकारले सातामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक विदा लागु गरेपछि विद्यालयको वार्षिक न्यूनतम २२० शिक्षण दिन पूरा गर्न कठिन भएको नगरपालिकाको भनाइ छ। नगर प्रमुख खड्काले मन्त्रालयका सचिवलाई सम्बोधन गर्दै पठाएको पत्रमा हालको विदा प्रणालीका कारण विद्यालयमा वास्तविक पठनपाठनका दिन उल्लेखनीय रूपमा घट्दै गएको उल्लेख गरेका छन्। यसले शैक्षिक गुणस्तर, विद्यार्थीको सिकाइ उपलब्धि र नियमित अध्ययन प्रक्रियामा प्रत्यक्ष असर परेको नगरपालिकाले जनाएको छ।

पत्रमा शिक्षा नियमावली, २०५९ को नियम ८४ (५) अनुसार एक शैक्षिक सत्रमा कम्तीमा २२० दिन विद्यालय सञ्चालन हुनुपर्ने स्पष्ट कानुनी व्यवस्था भएतापनि हालको विदा संरचनाले उक्त व्यवस्था कार्यान्वयनमा व्यावहारिक समस्या सिर्जना गरेको जनाइएको छ। नगर प्रमुख खड्काले सोही आधारमा नगरपालिकाले स्थानीय तहमा अभ्यास गर्दै आएको मोडल अनुसार हप्तामा एक दिन अर्थात् शनिबार मात्रै विदा दिने व्यवस्था शैक्षिक दृष्टिले बढी व्यवहारिक र प्रभावकारी हुने निष्कर्ष निकालेको बताए।