
नेपालमा बालकमाथि हुने यौन हिंसाविरुद्ध जनचेतना फैलाउन ‘निलो छाता दिवस’ को अवसरमा छलफल कार्यक्रम आयोजना गरिएको छ। भ्वाइस अफ चिल्ड्रेन र फेमिली फर एभ्री चाइल्ड ग्लोबल अलाइन्सको संयुक्त पहलमा सम्पन्न भएको कार्यक्रममा बालकहरूमाथि हुने यौन हिंसाबारे अध्ययनबाट प्राप्त तथ्यांक तथा सुझावहरू प्रस्तुत गरिएका थिए। सन् २०२१ देखि प्रत्येक वर्ष अप्रिल १६ मा मनाइँदै आएको निलो छाता दिवसभित्र बालकमाथि हुने यौन हिंसाका घटनाबारे जनचेतना अभिवृद्धि गर्नुका साथै नीतिगत पैरवीसमेत गरिन्छ।
कार्यक्रमका प्रमुख अतिथि, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाले बाल अधिकार संरक्षणको क्षेत्रमा भ्वाइस अफ चिल्ड्रेनले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रशंसा गरे। उनले बालबालिका सम्बन्धी ऐन २०७५ को संशोधन तयारीमा रहेको र सरोकारवाला निकाय तथा व्यक्तिहरूबाट सुझाव संकलन भईरहेको जानकारी गराए। राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य सचिव इन्द्रा देवी ढकालले बालकमाथि हुनसक्ने हिंसाको अन्त्य सरकार र सरोकारवालाहरूको सहकार्यले मात्रै सम्भव हुने बताइन्।
भ्वाइस अफ चिल्ड्रेनका कार्यकारी निर्देशक कृष्णकुमार थापाले महिला, किशोरी तथा बालिकामाथि मात्र यौन हिंसा हुने भन्ने सामाजिक बुझाइ गलत भएको उल्लेख गर्दै बालकहरू पनि यौन हिंसाको जोखिममा रहेको तथ्याङ्क उजागर गर्न निलो छाता दिवस महत्वपूर्ण रहेको बताए। कार्यक्रममा भ्वाइस अफ चिल्ड्रेनकी वरिष्ठ कार्यक्रम प्रबन्धक कृति भट्टराईले बालकमाथि हुने यौन हिंसासम्बन्धी तथ्यांक प्रस्तुत गरिन्।
उनले सामाजिक मूल्य–मान्यता, पितृसत्तात्मक सोच र ‘छोरा मान्छे सधैं बलियो हुनुपर्छ’ भन्ने धारणा कारण बालकहरूले आफूमाथि भएको हिंसाबारे खुल्न नसक्ने अवस्था रहेको बताइन्। नेपाल प्रहरी साइबर ब्युरोका तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा २५३ जना बालबालिका साइबर अपराधबाट प्रभावित भएका थिए भने आर्थिक वर्ष २०८०/८१ मा उक्त संख्या बढेर ३५१ पुगेको छ। कार्यक्रममा सहभागी युवा सहभागीहरूद्वारा बाल सुरक्षा सुनिश्चितका लागि प्रभावकारी नीति तथा व्यवहारिक पहल आवश्यक रहेको जोड दिइएको थियो।






