प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव – औषधीय प्रयोजनका लागि गाँजा प्रयोग खुला गरौं

३ वैशाख, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले औषधीय प्रयोजनका लागि गाँजाको प्रयोग गर्ने अधिकार स्वीकृत गर्नुपर्ने बताएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको छलफलमा मुख्यमन्त्री बानियाँले संघीय सरकारले कानुन बनाएर यस्तो अधिकार प्रवाह गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
‘गाँजामा औषधीय गुणहरू विद्यमान छन्। सिंहदरबारको वैद्यखानामा समेत औषधिको रूपमा गाँजाको प्रयोग हुन्छ भने यसलाई कानुनी रूपमै व्यवस्था गरेर किन अघि नबढाउने?’ प्रधानमन्त्रीलाई सुझाव प्रस्तुत गर्दै उनले भने, ‘सुरूवात पकेट क्षेत्रका रूपमा मकवानपुरलगायत केही जिल्लाबाट गर्न सकिन्छ। संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरी नियमन र अनुगमनको उचित व्यवस्था गर्दै गाँजाको प्रयोगका लागि बाटो खोल्नुपर्छ।’






