Skip to main content
वरिष्ठ मेकअप आर्टिस्ट अशोक रोकाको निधन – Online Khabar

वरिष्ठ मेकअप कलाकार अशोक रोकाको निधन

वरिष्ठ मेकअप कलाकार अशोक रोकाको बिहीवार शाम घट्टेकुलोस्थित आफ्नै आवासमा निधन भएको छ। चलचित्र प्राविधिक संघ एवं चलचित्र विकास बोर्डले रोकाको निधनमा गहिरो दुःख व्यक्त गरेका छन्। उनका पार्थिव शरीर शुक्रबार दिउँसो १२ बजे देखि १ बजेर ३० मिनेटसम्म पशुपतिनाथ आर्यघाटमा राखिनेछ।

अशोक रोकाको निधनले नेपाली चलचित्र परिवारलाई स्तब्ध, मर्माहत तथा शोकाकुल बनाएको जनाइएको छ। उनी २०४० सालदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय थिए र चार दशकभन्दा बढी समयसम्म योगदान दिँदै आएका थिए। उनले कलाकारलाई चरित्रअनुसार जीवित पोशाक, भावना र स्वरूप प्रदान गर्दै पर्दापछिको एक महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

रोकाले ‘ज्वाला’, ‘उत्ताल’, ‘अल्लारे’, ‘आफ्नो मान्छे’, ‘चाँदनी’, ‘अर्जुन’, ‘देवता’, ‘आदिकवि भानुभक्त’, ‘नासो’, ‘नाईं नभन्नू ल’, ‘चिनो’, ‘धर्मसङ्कट’, ‘मायाजबार’ लगायत एक सयभन्दा बढी चलचित्रमा काम गरी नेपाली चलचित्र उद्योगको विकासमा उल्लेखनीय योगदान दिएका थिए। उनको अनुशासन, समर्पण र चलचित्रप्रति निष्ठाले सधैं नयाँ पुस्तालाई उत्प्रेरित गर्दै आएको छ।

उनको निधनले चलचित्र क्षेत्रमा अनुभवी, सरल र कर्तव्यपरायण कलाकारलाई गुमाएको उल्लेख गर्दै यसलाई अपूरणीय क्षति मानिएको छ। नेफ्टा अध्यक्ष पुष्कर लामाका अनुसार, शुक्रबार दिउँसो १२ बजेदेखि १ बजेर ३० मिनेटसम्म रोकाको अन्तिम श्रद्धाञ्जली पशुपतिनाथ आर्यघाटमा राखिनेछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ