
केहि दिनअघि पाकिस्तानका लडाकु विमान र सैन्य बल साउदी अरब पुगेका छन्। यो तैनाथी दुई देशबीच गत वर्ष भएको रक्षा सम्झौताको हिस्सा मानिन्छ। यस सम्झौताअनुसार, यदि कुनै एक देशमाथि हमला हुन्छ भने अर्को देशले सहयोग गर्नेछ। यो घटनाक्रम यस्तो समयमा भएको छ, जब पाकिस्तान इरान-अमेरिका वार्ताको मध्यस्थता गरिरहेको छ। वार्ताको उद्देश्य इरान युद्ध अन्त्य गर्ने बाटो पहिल्याउनु हो, तर अहिलेसम्म कुनै निकास निस्किएको छैन। साउदी रक्षा मन्त्रालयले पाकिस्तानी सेनाको तैनाथीलाई संयुक्त रक्षा सहयोगलाई मजबुत बनाउने र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षामा योगदान दिने उद्देश्यले गरिएको स्पष्ट पारेको छ।
पाकिस्तानका एक अधिकारीले भनेका छन् कि साउदी अरब पुगेका पाकिस्तानी सैनिकहरू ‘कसैमाथि आक्रमण गर्नका लागि’ नभएको बताएका छन्। यस कदमले धेरै प्रश्नहरू खडा गरेको छ, विशेष गरी खाडी क्षेत्रमा अमेरिकी सुरक्षा ग्यारेन्टीको भविष्यमा यसले के प्रभाव पार्ने हो भनी। इरानले खाडी क्षेत्रका महत्त्वपूर्ण तेल खानी र नागरिक सुविधाहरूमा ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ, जसले अमेरिकाले थोपेको युद्धको मूल्य ती देशहरूले चुकाउनुपरेको भन्दै आक्रोश बढाएको छ।
साउदी सुरक्षा तथा रणनीतिक विशेषज्ञ हसन अल–शहरीका अनुसार, साउदी अरबमा पाकिस्तानी वायुसेनाको तैनाथीले साउदी अरब आफ्नो सुरक्षा ग्यारेन्टीमा विविधता ल्याउन चाहन्छ भन्ने देखाउँछ। उनले यसलाई एक स्मार्ट कदमका रूपमा व्याख्या गरेका छन्, जसको अर्थ अमेरिकासँगको साझेदारी कायम राख्नु र पाकिस्तानसँग मिलेर एक छुट्टै समानान्तर सुरक्षा कवच तयार गर्नु हो। सन् २०१५ मा यमन युद्धका बेला साउदी अरबले पाकिस्तानसँग सैन्य सहयोग मागेको थियो, तर त्यो समयमा पाकिस्तानी संसद्ले उक्त अनुरोधलाई अस्वीकार गरेको थियो।
अल–शहरीका अनुसार, आजको परिस्थिति फरक छ किनभने अहिले दुई देशबीच औपचारिक रक्षा सम्झौता छ। यसैबीच, डा. मुस्तफा शलाशले भनेका छन् कि साउदी अरबमा पाकिस्तानी सेनाको तैनाथी बढी प्रतीकात्मक छ। यो पाकिस्तानको रक्षा प्रतिबद्धता र आफ्ना सहयोगीहरूप्रति वफादारीको सन्देश हो। यसरी पाकिस्तानको सैन्य उपस्थितिले साउदी अरबले अन्य सहयोगीहरूलाई पनि आफूसँग जोड्नसक्ने क्षमता देखाउँछ।






