
४ वैशाख, काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा समर्पण गर्नुभएको छ । शुक्रबार सञ्चालक समिति बैठकमा श्रेष्ठले आफ्नो राजीनामा घोषणा गर्नुभएको हो । धितोपत्र ऐनअनुसार, बोर्ड अध्यक्षले आफ्नो राजीनामा सरकारसमक्ष बुझाउनुपर्छ । सोही प्रक्रिया अनुसार श्रेष्ठले शुक्रबार साँझ अर्थमन्त्री समक्ष आफ्नो राजीनामा बुझाउनुभएको जानकारी अर्थ मन्त्रालयका स्रोतहरूले दिएका छन् ।
शुक्रबारको बोर्ड बैठकपछि सञ्चालकहरूलाई जानकारी दिंदै श्रेष्ठले सरकारलाई सहयोग गर्न आफूले राजीनामा दिन निर्णय गरेको बताउनुभयो, ती सञ्चालकहरूले जानकारी दिएका छन् । सरकारले उहाँलाई १० मंसिर २०८१ मा धितोपत्र बोर्डको कार्यकारी अध्यक्ष पदमा नियुक्त गरेको थियो । दीपक भट्टको सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानको सिलसिलामा श्रेष्ठ पनि संलग्न भएपछि सरकारले उहाँलाई राजीनामा दिन र सहयोग गर्न आग्रह गरेको थियो । यसै अनुरूप श्रेष्ठले राजीनामा दिनुभएको हो ।
*पहिले प्रकाशित समाचारमा केही तथ्यमा त्रुटि रहँदा सच्याइएको छ – सम्पादक।






