
५ वैशाख, काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानले इन्धनको मूल्य घटाउन सरकार र नेपाल आयल निगमलाई २४ घण्टे अल्टिमेटम दिएको छ । शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै सो संगठनले २४ घण्टाभित्र मूल्य नघटाए आयल निगमलाई घेर्ने चेतावनी दिएको हो । ‘जनतालाई पुरानाहरूको जञ्जालबाट मुक्त गर्ने नयाँहरूले जनतालाई महँगीले दबाउने काम गर्दैछन्,’ सो अभियानका संयोजक सुनिल सिंहले भने, ‘दुई तिहाइको उपहार यही हो? यदि सरकारले जनताको आवाज सुनेन भने आयल निगमको अस्तित्वलाई समाप्त पार्न संघर्ष गर्नेछौं।’
सो अभियानका सह–संयोजक अजय सोडारीले छिमेकी देशहरूमा पेट्रोलियम पदार्थको मूल्य यथावत रहँदा पनि नेपालमा अत्यधिक मूल्य वृद्धि गरिएको भन्दै आपत्ति जनाए। ‘भारतमा पेट्रोलको मूल्य ९५ रुपैयाँ छ भने नेपालमा २१९ हुनु लाजमर्दो कुरा हो,’ सोडारीले भनिन्। सरकारले ५० प्रतिशत कर छुट गरेको भ्रम फैलाएर जनतामाथि झन् महँगी थोपरेको आरोप लगाउँदै उनले भने, ‘कर छुटको नाटक गर्ने सरकार र आयल निगमलाई घेराबन्दी गर्नबाट कसैले नछुटोस्।’
सरकार आफैं महँगी थप्दै गर्दा व्यापक विरोध हुनुको सट्टा सबै मौन रहेकोप्रति उनी धेरै रोष प्रकट गरे। ‘महँगी बढ्दैछ र मानौँ यो सरकार र जनताका लागि मौन अवधि हो, यस्तो हुँदा पनि सबै चुपचाप छन्,’ उनले भने। जेनजी अभियन्ता प्रकाश बमले जेनजी आन्दोलनको बलबाट आएको बालेन्द्र शाह नेतृत्वको सरकार निरंकुश शैलीमा सिंहदरबारमा सर्वसाधारणलाई निषेध गरेर बसेको भन्दै आक्रोश पोखे।






