Skip to main content

निर्वाचन जितेपछि पनि वचन पुरा भएनन्

५ वैशाख, धनगढी। पिठ्युँमा डोको र टाउकोमा नाम्लो। पसिनाले भिजेको शरीर। निथ्रुक्क भिजेको पिठ्युँमा रोगले थला परेको अर्को शरीर छ। टाउकोको नाम्लो र पिठ्युँको डोकोको सहारामा बोकेको करिब साढे २ घण्टा लाग्ने दुर्गम यात्रा पार गर्नु पर्ने बाध्यता छ। यो कुनै चलचित्र वा नाटकको दृश्य होइन। बरु एउटा दम्पतीले सामना गरिरहेका बाध्यात्मक जीवनकथा हो। कैलालीको मोहन्याल गाउँपालिका–३ मुलेकाँणाका कम्माने दमाई (५०) यसै पीडामा जीवन बिताइरहेका छन्। श्रीमती जमुना दमाई (४५) को मधुमेहले खुट्टा सुन्निएपछि उनलाई डोकोमै बोकेर सडकसम्म र त्यसपछि अस्पताल लैजानु कम्मानेको दैनिक जीवनको भाग बनेको छ।

दुई वर्षअघि मधुमेह पहिचान भएका जमुनाको स्वास्थ्य अवस्था पछिल्लो समय निकै बिग्रिएको छ। सुन्निएको खुट्टा, सङ्क्रमण र घाउले जमुनालाई हिँडडुल गर्नै नसक्ने बनाएपछि उपचारका लागि कम्मानेले उनलाई डोको र नाम्लोको सहारामा पिठ्युँमा बोकेर साढे दुई घण्टा उकालो ओरालो गर्ने बाध्यता छ। मोहन्याल-३ को मुलेकाँणाबाट उनी एक्लैले रोगले थला परेकी श्रीमतीलाई बोकेर फल्लेबिसौना पुग्छन्। त्यहाँबाट मात्रै गाडी चढ्न पाइन्छ। खुट्टा सुन्निएर हिँडडुल गर्न नसक्ने भएकाले श्रीमतीलाई डोको र नाम्लोको सहारामा एक्लैले बोकेको उनले सुनाउँछन्।

‘बुढीलाई यस्ता अवस्थामा उपचार नगरी छोड्नु गाह्रो छ। इलाजका लागि डोकोमै बोकेर आफैं फल्लेबिसौनासम्म लैजान्छु,’ कम्मानेले भने, ‘गाउँका युवा सबै विदेश गइसके। बुढापाकालाई दुःख दिन नचाहँदै म एक्लैले बोकिरहेको छु।’ गाउँमा सहयोग लिन मान्छे पनि छैनन्। मुलेकाँणामा १५-१६ परिवार मात्र बस्छ। अधिकांश युवा रोजगारीको लागि भारत गइसकेका छन्। गाउँमा बुढापाका, महिला र बालबालिकाहरु मात्र छन्, जसले बिरामी बोकेर लैजान सक्ने अवस्था छैन। स्वास्थ्य चौकी टाढा छ र स्ट्रेचर भए पनि बोकेर लैजान मान्छेको अभाव छ।

रोग, गरिबी र बाध्यता मधुमेहका कारण जमुनाको बाँया खुट्टामा सङ्क्रमण फैलिएको छ। केही समयअघि नेपालगन्जमा उपचार गरिएको थियो। भारतमा ज्याला मजदुरी गर्ने छोरोले त्यहाँ लगेर घाउको अपरेसन पनि गराएका थिए। तर, फर्किएपछि खुट्टाको झन् सुन्निने समस्या थपियो। श्रीमान् कम्माने यतै ज्यालादारी गर्दै साँझ बिहानको खाना जोहो गर्थे। आर्थिक अभावका कारण श्रीमतीलाई उपचारका लागि लामो समयसम्म लैजान सकेनन्।

स्थानीय सुनिता शाह र कार्यपालिका सदस्य नानी दमाईले जमुनाको उपचारका लागि सहयोग सङ्कलन गरी करिब ४० हजार रुपैयाँ उठाएका थिए। स्थानीय हरियाली सामुदायिक वनका अध्यक्ष धनराज गिरीको सहयोगमा रकम सङ्कलन भएपछि पहिलोपटक डोकोमा बोकेर कम्मानेले श्रीमतीलाई अस्पताल पुर्‍याएका थिए। भेरी अस्पताल नेपालगन्ज लगेर उपचार गर्दा चिकित्सकले मधुमेह त्यसका कारण खुट्टामा समस्या देखिएको बताएका थिए र औषधि दिएका थिए। जमुना अहिले औषधि सेवन गरिरहेकी छिन्। तर आर्थिक अभावले उपचार निरन्तर गर्न कठिनाइ भैरहेको छ। ‘दुई वर्षदेखि राम्रोसँग हिँड्न सकेकी छैन,’ उनले भनिन्, ‘पैसा नभएकोले चाहेजस्तो उपचार गराउन सकिरहेका छैनौं।’

उनका दुई छोरा, दुई छोरी छन्। जेठो छोरोको विवाह भइसकेको छ र परिवारसहित भारतमा छन्। कान्छो छोरो पनि भारतमा काम गर्छ। आर्थिक संकटले थिचेपछि छोरी पनि दुई महिनाअघि कामको खोजीमा भारत गएकी छिन्। ‘निर्वाचनमा मत बदले पनि मेरो अवस्था उस्तै’ कम्माने आफूसमेत स्वास्थ्य कमजोर छन्। दैनिक ज्यालादारी (ढुङ्गा बोकेर, कोदालो खनेर) गरेर गुजारा चलाउँदै आएका थिए, तर श्रीमतीको उपचार खर्च धान्न गाह्रो भइरहेको छ। ‘के गर्ने, मरेर पनि मरिन्न, पालेर पनि पालिन्न,’ उनले पीडा व्यक्त गरे।

श्रीमतीलाई पिठ्युँमा बोकी मुलेकाँणा देखि फल्लेबिसौनासम्मको साढे दुई घण्टाको कष्टकर यात्रामा कम्माने दुई कुरा सम्झन्छन्: पहिलो– चुनावमा गाउँ आएका नेता र दोस्रो– आफूले दिएको मत। २१ फागुनमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा प्रायः सबै राजनीतिक दलका नेता र उम्मेदवार गाउँ पुगेका थिए। उनीहरूले दमाई परिवारलाई भेटेर मत दिए श्रीमतीको उपचार गराइदिने वाचा गरेका थिए। तर निर्वाचन सकिएपछि पनि कम्मानेको अवस्था यथावत् छ। चुनाव हारेको कुरा छाडौं, जितेका नेताहरू पनि गाउँ फर्केका छैनन् भन्ने उनी गुनासो गर्छन्। आफूले मत फेरे पनि नयाँ सांसदले आफ्नो समस्या समाधान गर्न पहल नगरेको सुनाउँछन्।

‘निर्वाचनको बेला भोट माग्न सबै दलका नेता आएका थिए। श्रीमतीको अवस्था देखाएर लगभग सबैलाई मत दिनुहोस् भनेँ, सबैले समाधान दिने भने तर पछि कसैले आएनन्,’ कम्मानेले भने, ‘पुराना नेताले केही नगरेपछि नयाँलाई दिएको थिएँ, तर सबै उस्तै रहे।’ यस क्षेत्रमा रास्वपा अध्यक्ष केपी खनालले प्रतिनिधिसभा निर्वाचन जितेका छन्। आर्थिक अभाव र भौगोलिक विकटताको बाबजुद कम्मानेको एउटै चाहना छ – श्रीमतीलाई राम्रो उपचार गराएर निको बनाउने। आवश्यक परेमा फेरि भारत वा नेपालकै राम्रो अस्पतालमा लैजान पनि उनी तयार छन्। त्यसका लागि भारतमा रहेका छोराछोरीसँग सल्लाह गर्दैछन्। (तस्वीर : पत्रकार टीकाराम साउँद, बौनिया)