
७ वैशाख, विराटनगर। झापा-११ फुटबल क्लबले ३८ौँ संस्करणको ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि जितेको छ। विराटनगरको शहीद रंगशालामा आइतबार राति भएको फाइनल खेलमा घरेलु टोली सम्राट स्पोर्टिङ क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै झापाले उपाधि हात पारेको हो। झापाले यसअघि २०७१ सालमा विराट गोल्डकपको उपाधि जितेको थियो। उपाधिसँगै झापाले ११ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता सम्राट स्पोर्टिङले ५ लाख रुपैयाँ पुरस्कारमा चित्त बुझाएको छ।
झापाको जितमा राजेश दाहाल र दिवस उराउले गोल गरे। सम्राटकातर्फबाट सौरभ तामाङले एक सान्त्वना गोल फर्काए। प्रतिस्पर्धात्मक फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको ८१ औं मिनेटमा झापाका राजेश दाहालले गोल गर्दै टोलीलाई अग्रता दिलाए। झापाले अग्रता लिएको ६ मिनेट नबित्दै दिवस उराउले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे। खेलको इन्जुरी समयमा सम्राटका सौरभ तामाङले गोल गर्दै २–१ गोल अन्तर बनाएका थिए।
फाइनल खेलको ‘प्लेयर अफ द म्याच’ झापाका राजेश दाहाल घोषित भए। सम्राट स्पोर्टिङका अशोक खवास प्रतियोगिताको ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भए। उनले नगद ५१ हजार रुपैयाँ प्राप्त गरे। विजेता तथा उपविजेता टोलीलाई कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्ट, कोशी प्रदेशको वन, पर्यटन तथा वातावरण मन्त्री भिम पराजुली, विराटनगर महानगरपालिकाका प्रमुख निगेश कोइराला र विराट गोल्डकप फुटबल ट्रस्टका अध्यक्ष किशोरबहादुर शाहीले पुरस्कार वितरण गरेका थिए। चैत २८ गतेदेखि सुरु भएको प्रतियोगितामा भारतका टोलीसहित ८ टोलीको सहभागिता थियो।






