
७ वैशाख, काठमाडौं । अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौं आइपुगेका छन्। उनी आज बिहान सवा ६ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका छन्। भारतीय मूलका कपुर नयाँ बालेन शाह नेतृत्वको सरकारसँग सम्बन्ध विस्तार गर्ने उद्देश्य लिएर काठमाडौं आएका हुन्।
कपुर काठमाडौंमा बस्ने अवधिमा उच्चस्तरीय भेटघाट गर्नेछन् र सरकारका केही मन्त्रीहरूसँग पनि भेटवार्ता गर्ने तयारी छ। गत वर्ष अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई दक्षिण एशियाली सुरक्षासम्बन्धी विज्ञका रूपमा दक्षिण एशिया मामिला हेर्ने सहायक विदेशमन्त्रीमा नियुक्त गरेका थिए। यसअघि यो जिम्मेवारी डोनाल्ड लुले सम्हालेका थिए। कपुरको काठमाडौं भ्रमण तीन दिन लामो हुनेछ र उनी बुधबार फर्कने कार्यक्रम बनाएका छन्। बालेन शाह नेतृत्वको सरकार गठनपछि काठमाडौं आउने उनी सबैभन्दा वरिष्ठ विदेशी कूटनीतिज्ञ मानिन्छन्।






