
७ वैशाख, काठमाडौं। नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाले मातृ पार्टी नेपाली कांग्रेसलाई संगठनको विधान उपलब्ध गराउन आग्रह गरेका छन्। नेविसंघ स्थापना दिवसको अवसरमा जारी गरिएको एक भिडियो सन्देशमा उनले कांग्रेस नेतृत्वसँग संगठनको विधान उपलब्ध गराउन अनुरोध गरेका हुन्। अध्यक्ष शेर्पाका अनुसार, विधानको अभावका कारण नेविसंघको १२ औं महाधिवेशनको प्रक्रिया अगाडि बढ्न सकेको छैन। यदि विधान जारी गर्न नसकिने भए, वर्तमान केन्द्रीय कार्यसमितिलाई भंग गर्नसमेत आग्रह गरेका छन्।
“विधान नभएको कारण हामी १२ औं महाधिवेशनको गन्तव्यसम्म पुग्न सकिरहेका छैनौं। यसबाट निकास पाउन पार्टी समक्ष अनुरोध गर्दछु,” उनले भने। “विद्यार्थी आन्दोलनलाई अघि बढाउन र महाधिवेशन सम्पन्न गर्न हामीले प्रस्ताब गरेको एजेन्डामा छलफल गरी विधान दिनुहोस्,” शेर्पाले जोड दिँदै भने, “यदि सकिँदैन भने हाम्रो केन्द्रीय कार्यसमितिलाई भंग गरी निकासको मार्ग प्रदान गर्न म अनुरोध गर्दछु।”
नेविसंघको सिनेटबाट पार्टी समक्ष प्रस्तावित एजेन्डामा पार्टीले गहन छलफल गरी पारित गर्नुपर्ने अध्यक्ष शेर्पाको माग रहेको छ। “एक महिनादेखि नेविसंघले सिनेट बैठकबाट पार्टीलाई प्रस्ताव गरेको एजेन्डाहरूमा गम्भीर छलफल गरी पारित गरिनुपर्छ भन्नेमा पार्टी नेतृत्व समक्ष जोडदार अनुरोध गर्दछु,” उनले भने।
अध्यक्ष शेर्पाले विद्यार्थी संगठनहरू खारेज गर्ने सरकारको निर्णयबारे पार्टी नेतृत्वलाई आधिकारिक धारणा सार्वजनिक गर्न पनि आग्रह गरेका छन्। उनले भने, “सरकारको अलोकतान्त्रिक र असंवैधानिक निर्णयबारे पार्टीले अहिलेसम्म धारणा नदिँदा चिन्ता र दु:ख लागेको छ।” “म पार्टी नेतृत्वलाई भन्न चाहन्छु, यही झण्डा र मसाल अंकित कलमको आन्दोलनलाई लिएर आज पार्टी नेतृत्वमा हुनुहुन्छ। विद्यार्थी आन्दोलनमाथि प्रहार भइरहँदा नेपाली कांग्रेसले छिटो धारणा सार्वजनिक गरी सार्वभौम संसद्मा यस विषयलाई प्रभावकारी रूपमा उठाउन आवश्यक छ,” अध्यक्ष शेर्पाले निष्कर्ष निकालेका छन्।






