
सोमबार नेप्से परिसूचक १३.१७ अंकले घटेर २८२५ अंकमा झरेको छ। कारोबार रकम ७ अर्ब ४६ करोडबाट घटेर ५ अर्ब ४३ करोडमा सीमित भएको छ। ४ कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेको छ, जसमा सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेस्ट इन रहेका छन्। ७ वैशाख, काठमाडौं।
साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारको परिसूचक नेप्से १३.१७ अंकले घटेको छ। सो गिरावटसँगै नेप्से परिसूचक २८२५ अंकमा झरेको छ। कारोबार सुरु भएको ६ मिनेटमै नेप्से २८४५ अंकसम्म पुगेको थियो, जुन आजको लागि सबैभन्दा उच्च विन्दु रह्यो। अघिल्लो कारोबार दिन नेप्से ५ अंकले बढेको थियो। आज कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ७ अर्ब ४६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४३ करोडमा सिमित भएको छ।
६५ कम्पनीको मूल्य बढ्दा १९७ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ। होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.०१ प्रतिशतले वृद्धि भएको छ। अन्य सबै समूहका सूचकहरू घटेका छन्। बैंकिङ समूह ०.८४, विकास बैंक ०.१६, र फाइनान्स ०.७० प्रतिशतले घटेका छन्।
घटेका समूहगत सूचकहरूमा गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ। ४ कम्पनीको सेयर मूल्य १५ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको सेयर मूल्यमा १५ प्रतिशतसम्मको घटबढ हुन सक्ने व्यवस्था आजदेखि लागु भएकाले यी ४ कम्पनीको मूल्य १५ प्रतिशतले बढेको हो। १५ प्रतिशतले मूल्य बढेका कम्पनीहरूमा सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट इन्डस्ट्रिज र शिखर पावर रहेका छन्।






