Skip to main content

मेयरले जग्गा बेचेर गरिबको घरमा डोजर चलाइयो

कोशी प्रदेश सरकारले थारु समुदायको सिरुवा पर्वको अवकाश दिएको दिन दुहबीमा रामकुमारी चौधरीको घर डोजरले भत्काइयो। दुहबी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदारले आफ्नो निजी जग्गामा जाने बाटो बनाउन रामकुमारीको घर भत्काउन डोजर पठाएको बताइएको छ। डोजर भत्काउने क्रममा नगर प्रहरीले रामकुमारीलाई रुखमा अँठ्याएर राखेको र छोरी विनमले ‘मेयरको जग्गामा जाने बाटो निकाल्न हामीलाई लछारपछार पार्‍यो’ भनेकी छन्। ७ वैशाख, दुहबी (सुनसरी)।

तराई-मधेशका आदिवासी थारु समुदायको विशेष पर्व सिरुवा मनाउन कोशी प्रदेश सरकारले वैशाख २ गते सार्वजनिक बिदा दिएको थियो। त्यही पर्वको दिन बिहानै दुहबी–१० की रामकुमारी चौधरीको परिवारमाथि राज्यले अमानवीय व्यवहार गर्‍यो। यो अमानवीय कार्यमा सुनसरीको दुहबी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदारको निजी स्वार्थ जोडिएको छ। आफ्नो घरको संरचना भत्काउन डोजर आएपछि रामकुमारीले रोक्न खोजिन्। दुहबी नगरपालिका बाट नगर प्रहरी र डोजरसहित आएको टोलीले उनीमाथि जबरजस्ती गर्‍यो।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा रामकुमारीलाई प्रहरीले एउटा रुखमा अँठ्याएर राखेको देखिन्छ। छोरी विनम चौधरीका अनुसार पुलिसले आमालाई रुखमा अँठ्याएको थियो र बुबालाई भ्यानमा राखेर लैजान खोजेको थियो। के आधारमा लैजाने भयो भनेर प्रश्न गरेपछि नगरपालिका टोली पछि हट्यो। रामकुमारीकी छोरी विनमले भनिन् कि बिहान साढे ८ बजेतिर दुहबी नगरपालिकाको डोजर घर अगाडि आएको थियो। दुहबी-१० का वडाध्यक्षले टहरा हटाउन २ दिनको सूचना दिएको पत्र चैत ३० गते मात्रै उनको घर पुगेको थियो।

डोजरले रामकुमारीको वर्षौंदेखि बसोबास गर्दै आएको संरचना भत्कायो। रामकुमारी चौधरी र उनको परिवारले विरोध गर्दा नगर प्रहरीले उनीमाथि जबर्जस्ती गर्‍यो। सार्वजनिक भएको भिडियोमा नगर प्रहरी रामकुमारी चौधरीलाई एउटा रुखमा पटक पटक अँठ्याइरहेको देखिन्छ। उम्कन खोज्दा प्रहरीले थप जकडेको थियो जसले गर्दा रामकुमारी आतंकित हिन्‍दा उनको अनुहारमा पीडा झल्किन्छ। ‘आमालाई रुखमा त्यसरी राखेको छ, मलाई पनि लछारपछार गरेको छ,’ विनमले भनिन्, ‘मेयरको जग्गामा जाने बाटो बनाउन हामीलाई लछारपछार पारियो।’